काठमाडौं । आगामी जेठ १ गतेदेखि काठमाडौं उपत्यकाको भक्तपुर र ललितपुरमा पनि भौतिक ट्राफिक सचेतना कक्षा पुनः संचालन हुने भएको छ ।
हाल काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा मात्रै संचालन हुँदै आएको भौतिक सचेतना कक्षा जेठ १ देखि भक्तपुर र ललितपुरमा पनि पुनः सुरू हुने भएको हो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दुवै जिल्लाका ट्राफिक प्रहरी कार्यालयमा आगजनी भएपछि भौतिक सचेतना कक्षा रोकिएको थियो । अहिले ती कार्यालयहरू पुनर्निर्माण गरी पुनः भौतिक कक्ष संचालन गर्न लागिएको हो ।
सेवाग्राहीको चाप तथा सहजतालाई ध्यानमा राख्दै अब उपत्यकाका तीनवटै जिल्लाबाट भौतिक कक्षा संचालन गर्न लागिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका चालकहरूले अब आफ्नो नजिकको ट्राफिक प्रहरी कार्यालयबाट नै सचेतना कक्षा लिन सक्नेछन् ।
मादक पदार्थ सेवन गरेर सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ती उल्लंघन गर्ने र सडक लेन मिच्ने चालकहरू कारबाहीमा परेपछि तोकिएको जरिवाना तिरी सचेतना कक्षा लिनुपर्ने व्यवस्था छ ।


