काठमाडौं । अटोमोबाइल तथा व्यापारिक घराना एमएडब्लू ग्रुपले कुनै ठोस तथ्य वा प्रमाण बिनै आफ्नो विरुद्ध मिडिया ट्रायल नगर्न आग्रह गरेको छ । एमडब्लूले एक विज्ञप्ति जारी गर्दै आफू विरुद्ध प्रमाणबिनै भन्सार छली, भ्याट छली र कर छलीको आरोप लगाएकोमा गम्भीर आपत्ति जनाएको हो ।
एमएडब्लू विरुद्ध यही वैशाख २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा (दर्ता नं. ६३८४) कर छलेको भन्दै उजुरी परेको थियो ।
कुनै पनि ठोस तथ्य, प्रमाण वा कानुनी आधारबिनै प्रधानमन्त्रीज्यू र उनको टिमलाई दिग्भ्रमित पार्न उक्त कुकर्म गरिएको कम्पनीले जनाएको छ । उजुरीको भरमा मात्र उद्योगी र व्यवसायीलाई दोषी ठहर गरी मिडिया ट्रायल गर्नु मुनासिब नरहेका कम्पनीको भनाइ छ ।
‘मिति २०८३ वैशाख २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता नं. ६३८४ मार्फत एमएडब्लु समूहविरुद्ध भन्सार छली, भ्याट छली र कर छलीका जुन आरोपहरू लगाइएका छन्, ती सम्पूर्ण आरोपहरू कुनै पनि ठोस तथ्य, प्रमाण वा कानुनी आधारविहीन छन्,’ कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त पत्र सम्माननीय प्रधानमन्त्रीज्यू र उहाँको टिमलाई दिग्भ्रमित पार्न तथा कम्पनीको व्यापार व्यवसायलाई जानाजानी क्षति पुर्याउने दुर्भावनापूर्ण उद्देश्यले लेखिएको हो ।’
एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्सले फोटोन ब्राण्डका ईभी अन्तर्राष्ट्रिय मान्यता अनुसार सही एचएस कोडमा घोषणा गरी भन्सार कार्यालयबाट आवश्यक जाँचपास गराएर र भन्सार कार्यालयले निर्धारण गरेको सम्पूर्ण महसुल तिरेर आयात गर्दैै आएको कम्पनीले बताएको छ ।
आर्थिक वर्ष २०८०।०८१ मा यसरी नियमानुसार आयात गरिएका ईभीहरूलाई महालेखापरीक्षकको कार्यालयले अन्य एचएस कोडमा वर्गीकरण गरी बेरुजु उठान गरेको थियो । यो भन्सार छली होइन, प्रशासनिक बेरुजु रहेको र बेरुजुलाई फौजदारी अपराधजस्तो गरी प्रस्तुत गर्नु सर्वथा अनुचित र भ्रामक रहेको एमएडब्लूको भनाइ छ ।
उक्त बेरुजुको सम्बन्धमा कम्पनीले सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन (0082-WO-0179) दायर गरेको छ । अदालतले मिति २०८२।०५।०८ मा भन्सार कार्यालयको पत्राचार कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश (स्टे अर्डर) जारी गरेको छ, जुन हाल पनि कायमै रहेको छ । न्यायालयमा मुद्दा विचाराधीन रहेकै अवस्थामा भन्सार छलीजस्तो गम्भीर फौजदारी आरोप लगाउनु र यसलाई अतिरञ्जित तरिकाले प्रसारण गर्नु न्यायिक प्रक्रियामाथिको प्रत्यक्ष हस्तक्षेप रहेको कम्पनीको बुझाइ छ ।
वि.सं. २०६७ को प्रतिवेदनसँग जोडिएको भ्याट छलीको आरोपका सम्बन्धमा एमएडब्ल्ूले आफू पीडित हुँदाहुँदै पनि आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयले आ.व. २०६७।०६८ मा निर्धारण गरेको अन्तिम र संशोधित कर निर्धारण आदेश बमोजिम सम्पूर्ण कर, ब्याज र जरिवाना समेत तिरिसकेको कम्पनीले जनाएको छ ।
साथै, आरोप पत्रमा ‘कम्पनी बन्द रहेको’ भन्ने दाबी सर्वथा असत्य र भ्रामक रहेको भन्दै कम्पनी हाल पनि अस्तित्वमै रहेको जानकारी गराएको छ ।
कानून, कर र राष्ट्रसेवाप्रति प्रतिबद्ध
‘एमएडब्लू समूहका सम्पूर्ण कम्पनीहरू नेपालको प्रचलित कानून र साधिकार नियामक निकायको नियमनमा रही आर्थिक कारोबार गर्दैआएका छन् । भ्याट, आयकर लगायत सम्पूर्ण कर दायित्व समयमै तिर्दैआएको छ र कुनै पनि फौजदारी दायित्व आकर्षित हुने कार्यमा कम्पनी संलग्न छैन,’ कम्पनीले भनेको छ ।
एमएडब्लू समूह नेपालमा सर्वाधिक कर तिर्ने कम्पनीहरूमध्येको एक हो । आर्थिक वर्ष २०७९।०८० र २०८०।०८१ मा लगातार दुई वर्ष सेवा व्यवसायतर्फ सर्वाधिक आयकर दाखिला गर्ने कम्पनीको रूपमा एमएडब्लू हायर पर्चेज प्रालिलाई आन्तरिक राजस्व कार्यालय, बिराटनगरबाट विशेष सम्मान गरेको थियो ।
कम्पनीले स्थापनाकालदेखि हालसम्म नेपालको यातायात क्षेत्रलाई आधुनिकीकरण गर्न विश्वस्तरीय नवीन प्रविधियुक्त सवारीसाधनहरूको विक्री वितरण गर्दै स्वदेशी बजारको माग पूरा गर्नुका साथसाथै स्वदेशी लगानी र उत्पादन क्षमता बढाउन उल्लेखनीय योगदान गर्दै आएको छ । देशभर ५ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी प्रदान गर्दै र राज्यलाई हालसम्म साढे ११ अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाउँदै राष्ट्रिय अर्थतन्त्रलाई गतिशील राख्न महत्वपूर्ण योगदान पुर्याएको छ ।


