काठमाडौं । कियाको इलेक्ट्रीक स्पोर्ट्स कार लगभग ९० प्रतिशत तयार भएको रिपोर्ट सार्वजनिक भएको छ । दक्षिण कोरियाली कम्पनीले यसअघि देखाएको ‘भिजन मेटा टुरिज्मो’मा आधारित नयाँ स्पोर्ट्स कार ल्याम्बोर्गिनी जस्तै देखिन्छ ।
कम्पनीले अप्रिलमा इटालीमा भएको ‘मिलान डिजाइन वीक’मा ‘भिजन मेटा टुरिज्मो’ पुनः देखायो । अहिले देखाउँदा लगभग उत्पादनको लागि तयार भएर आएको हो ।
अहिले पनि कन्सेप्टकै रूपमा देखाइएको ‘भिजन मेटा टुरिज्मो’का बारेमा कियाका डिजाइन प्रमुख करीम हबीबले भने, ‘भिजन मेटा टुरिज्मोले कियाको आगामी दशकको यात्रा देखाउँछ । यसमा हामी सफल भइसकेका छौं । यसको विकास तीन सिद्धान्तमा आधारित छ । पहिलो ड्राइभिङ पर्फमेन्स, दोस्रो डिजिटल अनुभव र तेस्रो लाउन्जमा जस्तो आराम प्रदान ।’
डिजाइन हेड हबीबका अनुसार ‘भिजन मेटा टुरिज्मो’ जेट विमानबाट प्रेरित छ । त्यसैले यसमा जोइस्टिक, गेमर, भर्चुअल गियर शिफ्टर, बटन लन्च कन्ट्रोल जस्ता फिचरको अनुभव गर्न सकिनेछ ।

भिजन मेटा टुरिज्मो कन्सेप्टमा फरक डिजाइनको स्टेयरिङ ह्वील प्रयोग भएको छ । साथै, तीन फरक ड्राइभिङ मोड पनि पाउन सकिन्छ । ड्राइभिङ मोडमा स्पीडस्टर, ड्रीमर र गेमर नामाकरण छ ।
नाम अनुसार स्पीडस्टर ड्राइभिङ मोडमा वाइड एंगल अग्मेन्टेड रियाली (एआर) हेडअप डिस्प्ले एक्टिभ हुन्छ । ड्रिमर मोडमा एआर एचयूडी र एआर चस्माको प्रयोगबाट भर्चुअल अनुभव लिन सकिन्छ । गेमर मोडमा एआर एचयूडी र स्टेयरिङ ह्वीलको प्रयोग गरेर रेसिङको अनुभव लिन सकिन्छ ।



