काठमाडौं । ठेक्का लागेको १३ वर्षसम्म पनि निर्माण सम्पन्न नभएपछि चितवन-तनहुँ जोड्ने त्रिशूली नदीमाथि निर्माणाधीन घुमाउने पुलको सम्झौता तोडिएको छ ।
पटक पटक म्याद थप र निर्देशन दिँदा पनि निर्माण कम्पनीले अटेर गरेपछि सडक डिभिजन कार्यालय दमौलीले आज सार्वजनिक सूचना जारी गर्दै ठेक्का अन्त्य गरेको हो ।
डिभिजनका अनुसार ‘मृत सञ्जीवनी निर्माण सेवा’सँगको सम्झौता अन्त्य गर्दै प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ ।
कार्यालयले गत चैत १७ गते संशोधित डिजाइन स्वीकृत भइसकेको जनाउँदै १५ दिनभित्र काम सुरु गर्न अन्तिम मौका दिएको थियो । तर, उक्त निर्देशनपछि पनि ठेकेदार सम्पर्कमा नआएको र कुनै प्रगति नदेखिएपछि सम्झौतामा उल्लेखित निर्देशन ‘गम्भीर उल्लङ्घन’ को प्रावधानअनुसार ठेक्का तोडिएको सडक डिभिजन प्रमुख राजीव श्रेष्ठले जानकारी दिए।
ठेक्का रद्द भएसँगै अब नयाँ टेन्डर आह्वान गर्ने बाटो खुलेको छ । साथै, निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रियासमेत अघि बढाइएको डिभिजन प्रमुख श्रेष्ठले जानकारी दिए ।
सडक डिभिजनले निर्माण कम्पनीलाई अविलम्ब निर्माणस्थल खाली गर्न तथा बाँकी भुक्तानी भए १५ दिनभित्र हिसाब मिलान गर्न निर्देशन समेत दिएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका-५ र चितवनको भरतपुर महानगरपालिका-२९ स्थित घुमाउने पुल बनाउन कम्पनीले २०७० असारमा १० करोड २१ लाख ८६ हजार रुपैयाँ ठेक्का पाएको थियो । तर, हालसम्म ८ पटक म्याद थप्दा समेत भौतिक प्रगति ३६ प्रतिशत मात्रै छ ।
दमौली-चितवन जोड्ने छोटो दूरीको वैकल्पिक मार्गको रूपमा घुमाउने पुल निर्माण अघि बढाइएको थियो । उक्त पुलको निर्माण सम्पन्न भएपछि चितवन-पोखराको दुरी मुग्लिङ-नारायणगढ सडकभन्दा २३ किलोमिटर छोटिने छ । साथै, वर्षायाममा मुग्लिङ-नारायणगढ सडक पहिरोका कारण सडक बन्द हुँदा रोकिनुपर्ने बाध्यता हट्ने छ ।


