काठमाडौं । जर्मन लग्जरी कार ब्राण्ड मर्सिडिजले इलेक्ट्रीक भर्सनमा आफ्नो चर्चित कुपे एसयूभी ‘एएमजी जीटी फोर डोर’ सार्वजनिक गरेको छ । यसको डिटेल बाहिर आएसँगै यसको चर्चा पनि चुलिएको हो ।
यसको सर्वाधिक चर्चा हुनुमा मर्सिडिजले प्रयोग गरेको ‘एक्सियल फ्लक्स मोटर’ हो । पछाडि दुवै चक्कामा फरक मोटर र अगाडिको एक्सलमा एउटा मोटर प्रयोग भएको एएमजी जीटी निकै पावरफुल छ ।
जर्मन कार उत्पादकका अनुसार यसअघि भी-८ इन्जिनमा उपलब्ध एएमजी जीटीको परम्परा कायम गर्दै इलेक्ट्रीकमा पावर र इमोशन दुवै जीवन्त राख्न प्रयास गरेको भन्दै प्रशंसा भइरहेको हो ।
कम्पनीले प्रयोग गरेको तीन एक्सियल फ्लक्स मोटरको संयुक्त पावर ८६० किलोवाट छ । यसको टप स्पीड क्षमता ३०० किलोमिटर प्रतिघण्टा रहेको छ । गाडी पावरमा मात्रै होइन चार्ज गर्न पनि तीव्र गतिमा सकिन्छ । यसले ६०० किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्छ । जसको सहायताले १० देखि ८० प्रतिशत चार्ज केबल ११ मिनेटमा गर्न सकिन्छ ।
अनौठो कुरा के छ भने इलेक्ट्रीक एएमजी जीटी एसयूभीले भी-८ इन्जिन भएको मोडल जस्तै आवाज दिन्छ । त्यो आवाज आर्टिफिसियल हो । यसमा आर्टिफिसियल गियर सिफ्टर र ट्रयाक्शन ब्रेक प्रयोग भएको छ । जसले पुरानो भी-८ को यादलाई कायम राख्छ ।
अर्को रोचक कुरा के छ भने मर्सिडिजले नयाँ इलेक्ट्रीक कुपेलाई अमेरिकाको लस एन्जलसमा जर्ज रसेल, टोटो वोल्फ, किमी एन्टोनेली जस्ता स्टारहरुको बीच सार्वजनिक गरेको थियो । यही लन्चबाटै नयाँ एसयूभीले ठूलो हाइप क्रियट गर्न सफल भएको हो ।

सन् २०२६ को अन्त्य तिरबाट मात्रै बजारमा आउने अनुमान गरिएको एएमजी जीटी इलेक्ट्रीकमा विश्वको ध्यान खिच्न सफल मोडल हो ।


