काठमाडौं । केटीएमले ४९० सीसी सेग्मेन्टमा नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने भएको छ । युरोपेली बजारमा चर्चित मोटरसाइकल निर्माता केटीएमले नयाँ एड्भेन्चर ४९० सिरिजमा काम गरिरहेको हो ।
कम्पनीले ल्याउने तयारी गरिरहेको नयाँ एड्भेन्चर मोटरसाइकलको टेस्ट म्युल परीक्षणका क्रममा देखिएको हो । केटीएमको नयाँ एड्भेन्चर डिजाइन रोड टेस्टमा देखिएसँगै सो मोडल ४९० सीसीको एड्भेन्चर मोटरसाइकल भएको अन्तर्राष्ट्रिय मिडियाहरूले बताएका हुन् । यस बारेमा कम्पनीले आधिकारिक रिपोर्ट भने अहिलेसम्म सार्वजनिक गरेको छैन ।
यसअघि केटीएमको ड्युक ४९० मोडलको परीक्षण तस्बिर सार्वजनिक भएको थियो । त्यसैले अहिले देखिएको नयाँ मोडल एड्भेन्चर टुरर सेग्मेन्ट भएको अनुमान गरिएको छ ।
यी दुवै मोटरसाइकल समान नयाँ प्यारालल ट्विन सिलिण्डर इन्जिन सेटअपमा हुन सक्ने बताइएको छ । जसले ६० देखि ६५ पीएससम्मको पावर जेनेरेट गर्नेछ ।
अन्तर्राष्ट्रिय अटो मिडियाका अनुसार केटीएमले हाल केही बजारमा बिक्री गर्दै आएको सिंगल सिलिण्डर ६९० सिरिजलाई विस्थापित गर्न नयाँ ४९० प्यारालल ट्विन सिलिण्डर इन्जिन प्लेटफर्म विकास गरिरहेको हुन सक्छ । यो नयाँ प्लेटफर्ममा आधारित ड्युक, एड्भेन्चर, आरसी सुपरस्पोर्ट, इन्ड्युरो र एसएमसी जस्ता मोडल आउने सम्भावना रहेको देखिन्छ ।
परीक्षणका क्रममा देखिएका मोटरसाइकल भारतमा नभई अन्तर्राष्ट्रिय बजारमा देखिएकाले यो प्लेटफर्म मुख्यतः विश्व बजारलाई लक्षित हुन सक्ने रिपोर्टमा उल्लेख छ । भारतका लागि भने केटीएमले छुट्टै सब ५०० सीसी ट्विन सिलिन्डर लाइनअप ल्याउन सक्ने अनुमान गरिएको छ ।
परीक्षणमा देखिएको ४९० एड्भेन्चर अहिले प्रारम्भिक विकास चरणमै रहेको छ । मोटरसाइकलमा परीक्षण उपकरणहरू जडान गरिएको छ । त्यसैले यसको डिजाइन प्रष्ट हुँदैन ।
मोटरसाइकलको अगाडिको हेडलाइट डिजाइन तथा फ्युल ट्यांकको बनावट हेर्दा हाल बजारमा रहेको ३९० एड्भेन्चरसँग केही समानता देखिन्छ । आगामी परीक्षण चरणहरूमा यसको डिजाइन अझ परिमार्जित हुने अपेक्षा गरिएको छ ।


