काठमाडौं । पर्यटन उद्योगलाई बढावा दिँदै विश्व मानचित्रमा नेपालको पर्यटनलाई चिनाउने अग्रज व्यवसायी प्रभाकर शम्सेर जबराको निधन भएको छ । उनले पर्यटन उद्योगमा धेरै वर्षसम्म प्यासिफिक एसियन ट्राभल एसोसिएसन (पाटा)को नेतृत्व सम्हालेका थिए ।
हाल सार्वजनिक सवारीमा एक छत्र राज गरि रहेको टाटाका गाडी नेपाल भित्र्याउने राणको निधन भएको हो । सार्वजनिक सवारीको क्षेत्रमा टाटाका गाडी नेपाल भित्रिएपछि आमुल परिवर्तन आएको मानिन्छ ।
उनी केही समयअघि ढाडको अप्रेशनका लागि अमेरिका पुगेका थिए । अप्रेशन पछि थप समस्या देखा परेपछि अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो । मे ३० मा स्थानिय समय अनुसार दिउँसो ४ः३० मा ८२ वर्षको उमेरमा प्रभाकर शम्सेरको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
आजभन्दा ३८ वर्ष अघि नेपाली बजारमा उनले टाटाका गाडी आधिकारिक बिक्रेताको रुपमा नेपाल ल्याएका थिए । टाटाको नेपालका लागि अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि हो ।
अहिले नेपाली बजारमा कमर्सियल सवारीको क्षेत्रमा टाटा अत्याधिक बजार हिस्सा सहित पहिलो स्थानमा रहेको छ । त्यस्तै प्यासेन्जर सेगमेन्टमा पनि टाटाले आफ्नो उपस्थित बलियो बनाउँदै लगेको छ ।
गुड गभन्र्नेन्सलाई सदैव अगाडी राखेर काम गर्नुपर्छ भन्ने राणाका लगानी भएका व्यवसायहरु करलगायतका विषयमा पारदर्शी भएको कम्पनीहरुमा पर्ने गरेको छ । उर्जा क्षेत्रमा पहिलो वैदेशिक लगानी भित्र्याउन सफल राणा प्रतिष्ठित व्यवसायी हुन् ।
सूर्य नेपालका समेत संस्थापक रहेका राणा अत्यन्त सफल व्यवसायीका रुपमा राष्ट्रले सम्झि रहने छ ।

