बीपी राजमार्गको नयाँ ट्रयाक १० दिनभित्र संचालनमा आउने

काठमाडौं । पुनर्निमार्णण भइरहेको बीपी राजमार्ग अन्तर्गत चारसयबेँसी खण्डको नयाँ ट्रयाक आगामी १० दिन भित्र संचालनमा आउने भएको छ ।

हाल फाउण्डेसन तयार पारिएको नयाँ ट्रयाकमा अब पर्खाल लगाउने, फिलिङ गर्ने र बाँकी काम सम्पन्न गरी १० दिन भित्र संचालनमा ल्याउने लक्ष्य राखिएको हो ।

संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले स्थलगत अनुगमनपछि निर्माण कार्यको प्रगतिबारे जानकारी दिएका हुन् ।

गत वर्ष असोजमा आएको बाढीले बीपी राजमार्गको करिब ३० किमी सडक बगाएको थियो । उक्त सडक ४ प्याकेजमा ठेक्का लगाई अहिले धमाधम काम भइरहेको छ ।

सडक निर्माण भइरहेकाले हाल रोशी खोला बगरमा अस्थायी डाइभर्सन बनाइ सवारी संचालन गरिएको छ । माथिल्लो मुख्य ट्रयाक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भनेर खुला गरिएको छैन ।

सभापति गजुरेलका अनुसार सडकको ट्रयाकको फाउण्डेसन तयार भइसकेको छ । अब केही क्षेत्रमा पर्खाल लगाउने, फिलिङ गर्ने र बाँकी निर्माण कार्य सकेर माथिल्लो सडकबाटै गाडी गुड्ने वातावरण मिलाउने लक्ष्य लिइएको उनले जानकारी दिए ।

अनुगमनका क्रममा पछिल्लो १५ दिनमा ट्रयाक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको आयोजनाका प्राविधिकहरूले जानकारी दिएका छन् । बाढी वा अन्य संकटकालीन अवस्थामा नयाँ ट्रयाक तत्काल प्रयोग गर्न सकिने प्राविधिक टोलीको भनाइ छ ।

१० किलोमिटरको खण्डमा दैनिक करिब १०० कामदार नियमित खटिरहेका छन् । सभापति गजुरेलले काभ्रे-सिन्धुली खण्डमा बाढीले भत्काएको सडकलाई असार १५ गतेसम्म व्यवस्थित रूपमा संचालन गर्ने गरी काम तीव्र पारिएको जानकारी दिए ।

अहिले खोलाबाटै सवारी संचालन गरिएकाले सामान्य वर्षा हुने बित्तिकै अवरुद्ध हुने गरेको छ । साथै, सम्भावित जोखिमलाई मध्येनजर गर्दै रातिमा सवारी संचालनमा रोक लगाइएको छ ।


Back_to_top