चांगान अटो अब क्रिस्टियानो रोनाल्डोको टिमको ग्लोबल पार्टनर

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी चांगानले पोर्चुगिज फुटबल फेडेरेसनसँग ऐतिहासिक रणनीतिक साझेदारी गरेको छ ।

गत शुक्रबार लिस्बनस्थित सिदाद दो फुटेबलमा चांगान अटोमोबाइल पोर्चुगिज राष्ट्रिय फुटबल टिमको अफिसियल ग्लोबल पार्टनर बनेको हो ।

पोर्चुगलमा विश्व प्रसिद्ध क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, बर्नार्डो सिल्भा, जोआओ फेलिक्स र राफेल लियाओको जस्ता फुटबलर छन् ।

चांगानको यो साझेदारी उसको ‘भास्ट ओसन प्लान’ रणनीतिको एउटा महत्वपूर्ण कदमका रूपमा सार्वजनिक गरिएको हो । जसको उद्देश्य खेलकुद, प्रविधि र जीवनशैलीसँग सम्बन्धित मार्केटिंगमार्फत ब्रान्डको अन्तर्राष्ट्रिय उपस्थिति बलियो बनाउनु हो ।

अटो चाइना २०२६ मा सार्वजनिक गरिएको भास्ट ओसन प्लान २.० ले चांगानको दृष्टिकोणलाई केबल ‘विश्वभर पुग्ने’बाट ‘स्थानीय रूपमा जरा गाड्ने’ तर्फ रूपान्तरण गर्छ । चांगानले यो रणनीतिमा सन् २०३० सम्ममा चीनबाहिर १५ लाख कार बेच्ने र युरोपमा चिनियाँ ब्रान्डहरूमध्ये अग्रणी बन्ने महत्वकांक्षी लक्ष्य पनि समावेश गरेको छ ।

यो पार्टनरसिप घोषणा कार्यक्रममा चांगानले पोर्चुगिज फुटबल नेतृत्वलाई दीपल एस०५ प्लग इन हाइब्रिड कार हस्तान्तरण गर्नुका साथै लिस्बनदेखि मेड्रिड हुँदै तुरिनसम्मको १००० किलोमिटरको युरोपेली टेस्ट ड्राइभ कार्यक्रम गरेको थियो ।

पोर्चुगल राष्ट्रिय फुटबल टिमको विश्वभर ५० करोडभन्दा बढी समर्थक छन् । युरोपेली उपभोक्ताको धारणा ‘सस्तो विकल्प’बाट ‘आकांक्षाको प्रतिक’ तर्फ बदल्न चाहने एक चिनियाँ अटोमेकरका लागि यस्तो भावनात्मक पहुँच अमूल्य छ । चांगानले पोर्चुगल, नर्वे र ग्रिसमा यसअघि नै एक्सक्लुसिभ वितरक सम्झौता गरिसकेको छ । अब पोर्चुगल केबल मार्केटिङको पृष्ठभूमिमा नभई एउटा सक्रिया बजारका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

पोर्चुगल राष्ट्रिय फुटबल टिमसँगको सहकार्य चांगानको परम्परागत स्पोन्सरसिपमा मात्र सीमित हुने छैन । यसले दृढता, उत्कृष्टता र दीर्घकालीन सोच जस्ता मूल्यको गहिरो साझापन प्रतिबिम्बिध गर्छ । यी विशेषताहरूले अन्तर्राष्ट्रिय गौरवका लागि प्रयासरत फुटबल फेडेरेसन र ४५ वर्षको यात्रामा विश्वका ठूला अटोमेकरहरूमध्ये बन्न सफल एउटा अटोमोबाइल जायन्ट दुवैलाई एकैसाथ परिभाषित गर्छ ।


Back_to_top