भारतमा सबै गाडीको बिक्री घट्दा हुन्डाई र महिन्द्रा कसरी जोगिए

भारतीय बजारमा निर्वाचन अगाडिदेखि नै कारको बिक्रीमा गिरावट आउन सुरु भएको थियो । तर, निर्वाचनको परिणम आएको महिनामा भने निकै धेरै गिरावट आएको छ । यसबीच पनि हुन्डाई र महिन्द्राकाे बिक्रीमा नगन्य मात्र गिरावट देखिएको छ । 

मे २०१९ मा हुन्डाईको भारतीय बजारको बिक्रीमा ५.६ प्रतिशतको गिरावट आएको छ भने अन्तर्राष्ट्रिय बजारको बिक्रीमा ५० प्रतिशतले वृद्धि गर्न सफल भएको छ । कम्पनीले भारतमा मेमा ४२ हजार ५०२ युनिट कार बिक्री गरेको छ । अघिल्लो वर्षको मेमा ४५ हजार ८ युनिट कार बेचेको थियो । 

१६ हजार ६०० युनिट कार निर्यात गर्दै हुन्डाईले अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले बिक्री बढाएको छ । समग्रमा कम्पनीले मे महिनामा ५.५ प्रतिशतको वृद्धि गरेको छ । कम्पनीको बिक्रीमा क्रेटा, आई १०, आई २० र भेन्यूको निकै ठूलो भूमिका रहेको बताईन्छ ।

त्यसैगरी महिन्द्राले मे २०१८ को तुलनमा मे २०१९ मा आफ्नो बिक्री १ प्रतिशतले मात्र गुमाएको छ । लगातार पछिल्लो समयमा आएका कम्पनीका नयाँ मोडलले बिक्री घट्न नदिएको बताइन्छ । कम्पनीले २०१८ को अन्त्य र २०१९ को सुरुवातमा विभिन्न ३ नयाँ मोडल बजारमा उतारेको थियो । कम्पनीले ल्याएको तीन नयाँ मोडलमा अल्टुरस, माराजो र एक्सयूभी–३०० हुन् ।  

मारुती सुुजुकीको २४ प्रतिशतले बिक्रीमा घट्दा टाटाको बिक्री ३८ प्रतिशतले घटेको छ भने निसानको बिक्री ४७ प्रतिशतले घटेको हो । अघिल्लो महिना (अप्रिल) मा केही बजार हिस्सा बढाएको होन्डाको बिक्रीमा २७ प्रतिशतले गिरावट आउँदा टोयोटाको बिक्रीमा १२ प्रतिशतले घटेको हो । 

कम्पनीहरुको बिक्री घटेको तथ्याङ्क २०१८ मेसँग २०१९ मेको तुलनात्मक विक्रीका आधारमा यस्तो देखिएको हो । 


Back_to_top