काठमाडौं । भारतीय मोटरसाइकल ब्राण्ड बजाजले अब एड्भेन्चर मोटरसाइकल ल्याउने भएको छ ।
बजाजको पहिलो एड्भेन्चर मोडल भारतीय सडकमा परीक्षणका क्रममा देखिएको हो । लामो समयदेखि केटीएमका लागि एड्भेन्चर मोटरसाइकल उत्पादन गर्दै आएको बजाजले अब आफ्नै ब्राण्डअन्तर्गत नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने भएको हो ।
कम्पनीले नयाँ बजाज एड्भेन्चर मोडलमा काम गरिरहेको संकेत परीक्षणमा देखिएको मोटरसाइकलले पुष्टि गरेको छ ।
भारतीय मिडिया रिपोर्ट अनुसार हालै सार्वजनिक भएका स्पाइ तस्बिरहरूमा देखिएको परीक्षण मोडल लगभग उत्पादन तयारी अवस्थाको देखिन्छ । यसले बजाजको नयाँ एड्भेन्चर मोटरसाइकल चाँडै बजारमा आउने सम्भावनालाई बलियो बनाएको हो ।
परीक्षणका क्रममा देखिएको मोटरसाइकल बजाजका विभिन्न पल्सर मोडल र केटीएम एड्भेन्चरसँगै सडकमा गुडिरहेको अवस्थामा भेटिएको थियो । यद्यपि, सबैको ध्यान खिच्ने टेस्टम्युल मोडलमा भने क्यामोफ्लाजले ढाकिएको नयाँ एड्भेन्चर नै थियो ।
यसको टेललाइट र स्विङआर्म डिजाइन हाल बिक्री भइरहेको पल्सर एनएस २०० सँग धेरै हदसम्म मिल्दोजुल्दो देखिन्छ । यही कारण यो मोटरसाइकल बजाजकै नयाँ उत्पादन रहेको बताइएको छ ।
डिजाइन हेर्दा यो मोटरसाइकल लामो दूरीको यात्रा र अफरोड राइडिङलाई लक्षित गरेर विकास गरिएको स्पष्ट देखिन्छ । मोटरसाइकलमा अगाडि उठाइएको फेन्डर, लामो सिंगल पिस सिट, ठूला बडी प्यानल तथा सिधा र चौडा ह्याण्डलबार देख्न सकिन्छ । जसले गर्दा राइडिङ पोजिसन आरामदायी र नियन्त्रणमैत्री हुने छ ।
समग्र डिजाइन र साइड प्रोफाइल भने केटीएम ३९० इन्ड्युरोसँग मिल्दोजुल्दो छ । तर यसको इन्धन ट्याङ्की आकार भने ठूलो छ । स्पाइ तस्बिरमा देखिएको इन्जिन केसिङ बजाजका हालका कुनै पनि मोटरसाइकलसँग मेल खाँदैन । यो केटीएमका पछिल्ला मोडलका इन्जिनसँग मिल्दोजुल्दो देखिन्छ ।
यस आधारमा बजाजको नयाँ एड्भेन्चर मोटरसाइकलमा प्रयोग हुने इन्जिन केटीएम २५० प्लेटफर्म समान रहने रिपोर्टमा उल्लेख छ । परीक्षण मोडलमा माथितिर उठाइएको एग्जस्ट सिस्टम देखिएको छ, जुन एड्भेन्चर टुरिङ मोटरसाइकलको महत्वपूर्ण विशेषता मानिन्छ ।
त्यसैगरी, अगाडि र पछाडि दुवैतर्फ लामो ट्राभलको सस्पेन्सन उपलब्ध रहेको देखिन्छ । यो सेटअप केटीएमका एड्भेन्चर मोडलहरूबाट प्रभावित हुन सक्ने अनुमान छ । मोटरसाइकलमा स्पोक ह्वील प्रयोग गरिएको छ ।
कम्पनीले भने आधिकारिक रूपमा कुनै रिपोर्ट सार्वजनिक गरेको छैन ।


