‘एस-०५ प्लस’ टेस्ट ड्राइभ : चलाउन अब्बल, मूल्य आकर्षक

काठमाडौं । दीपल एस-०५ नेपाल आएको छोटो समयमा सेग्मेन्ट लिड गर्न सफल एसयूभी हो । मूल्यका हिसाबले ५० देखि ६० लाख भित्र उपलब्ध सबै प्रतिस्पर्धीलाई उछिन्दै एस-०५ लिडर बनिसकेको छ ।

गत भदौमा सार्वजनिक भएको एस-०५ मोडलको सफलतासँगै एमएडब्लू वृद्धिले यसको प्लस मोडल सार्वजनिक गरेको छ । एस-०५ प्लस मोडल मूल्यका हिसाबले ५४ लाख रुपैयाँमा किन्न पाइन्छ । जुन यसअघि धेरै बिक्री भएको एस-०५ म्याक्सको तुलनामा ६ लाख रुपैयाँ सस्तो हो ।

डिजाइनको हिसाबले दीपलका कार अब्बल हुने गर्छन् । त्यही लिगेसी एस-०५ प्लसमा पनि निरन्तरता दिएको पाइन्छ । यसलाई मैले काठमाडौंदेखि गोरखा दरबारसम्म, गोरखा दरबारदेखि चितवन हुँदै हेटौंडाबाट काठमाडौंसम्म चलाएर हेरेँ ।

सबैभन्दा पहिला यात्रा गरिएको दुरीको विषयमा कुरा गरौं । काठमाडौंको थलीबाट गोरखा दरबारसम्मको १६३ किलोमिटर लामो यात्रा भएको थियो । यो यात्रा सुरू गर्दा गाडीमा फुल चार्ज थियो । गोरखा दरबारबाट भरतपुरसम्मको ८० किलोमिटर, भरतपुरबाट हेटौंडासम्मको ७५ किलोमिटर र हेटौंडाबाट काठमाडौंको नक्सालसम्मको ८४ किलोमिटर यात्रा गरियो ।

कुल ४०२ किलोमिटर यात्रा गर्दा गाडीमा २ प्रतिशत चार्ज बाँकी थियो । यात्रामा केही समस्या आउला कि भन्ने डरले भरतपुरमा २० प्रतिशत चार्ज टपअप गरिएको थियो । काठमाडौं आउँदा २२ प्रतिशत चार्ज बाँकी नै थियो । ठ्याक्कै ९८ प्रतिशत चार्जले ४०२ किलोमिटर यात्रा सम्पन्न भयो ।

ब्याट्री साइज

दीपलले एस-०५ प्लसमा ५६.१ किलोवाट आवरको गोल्डन सिल्ड ब्याट्री प्रयोग गरेको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४०५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । हाम्रो सडक कण्डिसनमा पनि ९८ प्रतिशत चार्जले ४०२ किलोमिटर यात्रा पूरा भयो ।

हामीले यात्रा गरेको गोरखासम्म त्यति ठूलो उकालो थिए । त्यस्तै गोरखाबाट हेटौंडासम्म पनि बाटो समथर मानिन्छ । उकालो बाटोको प्रयोग भिमफेदीबाट काठमाडौं आउँदा धेरै थियो ।

यदि, तपाईं रेन्जको हिसाबले गाडी किन्ने सोच्दै हुनुहुन्छ भने तपाईंको लागि यो गाडी सही छनोट बन्न सक्छ ।

मोटर पावर

दीपल एस-०५ प्लसमा ९९ किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर उपलब्ध छ । यसको रियर ह्वील ड्राइभ सिस्टम साँच्चै फिल गर्न सक्ने किसिमको छ ।

‘रियर ह्वील ड्राइभ क्यारेक्टर’ पाउन सकिने एस-०५ प्लसलाई मोटरले पछाडिबाट धकेलेको महसुस गर्न पाइन्छ । जुन धेरै कम रियर ह्वील ड्राइभ ईभीमा गर्न पाइन्छ ।

‘थ्रोटल रेस्पोन्स’ निकै छिटो छ । त्यसैले सहरी क्षेत्र होस् वा हाइवे चलाउँदा निकै फुर्तिलो महसुस गराउँछ ।

सस्पेन्सन

यसको सस्पेन्स निकै आरामदायी प्रदान गर्न सक्षम छ । तीव्र गति र कच्ची बाटोमा केही ‘बाउन्स’ महसुस हुन्छ । तर, शून्यदेखि ८० किलोमिटर प्रतिघण्टाको स्पीडमा हाइवेमा चलाउँदा निकै आरामदायी महसुस हुन्छ ।

ह्याण्डलिङ

गाडीमा चढ्ने बित्तिकै महसुस गर्न सकिने विषय यसको क्याबिन हो । हेडअप डिस्प्ले, इन्फोटेन्टमेन्ट सिस्टम, ककपिट र स्टेयरिङको संयोजन प्रिमियम ‘फिल’ लिन काफी हुन्छ ।

दीपलले एस-०५ मा दिएको स्टेयरिङ सामान्य ईभीकोभन्दा अलि बढी ‘वेटी र नेचुरल फिल’ दिने लाग्छ । यसले चालकको कन्फिडेन्ट बढाउँछ । त्यसैले यसको ह्याण्डलिङ बजारमा उपलब्ध धेरै ईभीको तुलनामा राम्रो छ ।

निष्कर्ष

पहिलो फ्युचरिस्टिक डिजाइन र दोस्रो प्रिमियम फिल दिने गाडी तपाईंको रोजाइमा हो भने दीपल एस-०५ पक्कै रोजाइमा पर्छ । रियर ह्वील ड्राइभको वास्तविक मज्जा लिन चाहने, टेक्नोलोजीको उच्चतम प्रयोग गर्ने र प्रिमियम इन्टेरियरसँगै म्युजिकको मज्जा लिनेको लागि एस-०५ प्लस ‘भ्यालू फर मनी’ मोडल हो ।

फ्रेमलेस डोर, फ्लस डोर ह्याण्डल, स्लोपिङ रुफलाइन, अगाडिको शार्क नोज डिजाइन र रातिको समयमा चलाउँदा प्रशस्त लाइट प्रदान गर्ने क्षमता भएको एस-०५ प्रिमियम ईभी नै हो ।

त्यसैले दीपल एस-०५ एउटा ड्राइभिङको मज्जा लिनेको लागि निकै उपयोगी मोडल हो । गाडीको साइज र सिट क्वालिटीले पनि पारिवारिक यात्राको लागि पनि यो पर्फेक्ट मोडल मान्न सकिन्छ ।


Back_to_top