फेरिएको कर नीतिमा फाइदा पाउन सक्ने ३ नयाँ ईभी आउँदै

काठमाडौं । सरकारले मोटर पावरबाट परिवर्तन गरी ‘सीआइएफ’ मूल्यमा आधारित कर लगाउने नीति लिएसँगै केही गाडीको कर परिवर्तन हुने भएको छ ।

सरकारले सीआइएफ भ्यालूमा कर निर्धारण गरेसँगै नयाँ आउने कार कुन मूल्यमा आउँछ भन्ने चासो सर्वत्र हुने देखियो । यसले व्यवसायीहरूलाई पनि पारदर्शी मूल्य निर्धारणमा दबाब दिने सरकारी कर्मचारीको बुझाइ छ ।

‘पहिले मोटर पावरको आधारमा मूल्य निर्धारण हुँदा मोटर पावर घटाइयो । अब मूल्यको आधारमा कर लगाइएको छ । यसले उपभोक्तालाई आफूले किन्ने कार कति मूल्यमा आयात भएको हो भन्ने जान्न सजिलो हुन्छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने ।

करको नीति फेरिएको कारण बजारमा आउन लागेका केही नयाँ मोडलको मूल्य कस्तो हुन्छ भन्ने चासो आम उपभोक्तामा देखिन्छ । छिट्टै बजारमा आउने ह्याचब्याक कार र एउटा ईभीमा कस्तो कर लाग्छ भन्ने आम चासो छ ।

१. प्रोटोन इमास फाइभ : प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले इमास फाइभ ह्याचब्याक कार नेपाल ल्याउँदैछ । जिली ग्रुपको उत्पादन ईएक्स फाइभलाई नै कम्पनीले रिब्याचिङ गरेर इमास फाइभको रूपमा ल्याउन लागेको हो ।

सन् २०२५ मा चीनमा सर्वाधिक बिक्री भएको जिली ईएक्स टु धेरैले कहिले नेपाल आउँछ भनेर कुरेको मोडल हो । चीनमा ६१ हजार ८०० देखि ९१ हजार ८०० युआनसम्म मूल्य छ । यसलाई कम्पनीले चीनबाट ७५ हजार हाराहारीमा ल्याउने हो भने सबैभन्दा कम कर लाग्ने छ ।

२. टाटा पन्च : सिप्रदी ट्रेडिङले नेपालमा बिक्री गर्दै आएको पन्च ईभीको फेसलिफ्ट मोडल छिट्टै बजारमा आउँदै छ । भारतीय उत्पादन भएकोले यसमा मुद्राको भ्यालुको असर पर्ने छैन ।

टाटा मोटर्सले राम्रो रेट दियो र २० लाखभन्दा कम मूल्यमा आयात गर्न सम्भव भएको खण्डमा पन्चमा लाग्ने करको सीमा घट्न सक्छ । तर, अहिले कति कर लाग्नेगरी पन्च ईभी नेपाल आउँछ एकिन साथ भन्न सक्ने अवस्था छैन ।

३. आरफक्स टी-१ : आरफक्सको टी वान ह्याचब्याक कार पनि नेपाल आउन लागेको इलेक्ट्रीक ह्याचब्याक कार हो । यसको मूल्य पनि चीनमा २६ हजार ८०० देखि ८७ हजार ८०० युआनसम्म छ । यदि, ७५ हजार युआन हाराहारीमा टी वान नेपाल आउने हो भने यसमा पनि सबैभन्दा कम कर लाग्ने देखिन्छ ।

अन्त्यमा, नेपाली बजारमा छिट्टै उपलब्ध हुने यी तीन ईभीमा सबैभन्दा कम कर लाग्ने सम्भवना धेरै छ । तर, कुन कम्पनीले कुन भेरियन्ट नेपाल ल्याउँछ र कति मूल्यमा ल्याउँछ भन्ने अहिले कुनै जानकारी प्राप्त छैन ।


Back_to_top