काठमाडौं । भारतीय दुईपाँग्रे सवारी निर्माता हिरो मोटोकर्पले फ्लेक्स फ्युलबाट चल्ने दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ ।
कम्पनीले आफ्नो सर्वाधिक बिक्री हुने कम्प्युटर मोटरसाइकल स्प्लेण्डर र एचएफ डिलक्सको फ्लेक्स फ्युल भेरियन्ट भारतीय बजारमा बिक्री सुरू गरेको हो ।
हिरोले एचएफ डिलक्स फ्लेक्स फ्युल भेरियन्टको मूल्य ७२ हजार ७९२ भारु (एक्स शोरुम) र स्प्लेण्डर फ्लेक्स फ्युल भेरियन्टको मूल्य ८२ हजार ७१० भारु (एक्स शोरुम) निर्धारण गरेको छ ।
हिरोले आफ्नो लोकप्रिय कम्युटर सेग्मेन्टमा पहिलो पटक फ्लेक्स फ्युलमा चल्ने मोटरसाइकल भारतीय बजारमा ल्याएको हो ।
दुवै नयाँ मोटरसाइकल ई२० देखि ई८५ सम्मको इथानोल मिश्रित इन्धनमा संचालन गर्न सकिने कम्पनीले जनाएको छ । भारत सरकारले वैकल्पिक इन्धनको प्रयोग बढाउने तथा पेट्रोलमाथिको निर्भरता घटाउने नीति अघि बढाइरहेका बेला हिरोले यो महत्त्वपूर्ण कदमलाई अघि सारेको हो ।
फ्लेक्स फ्युल प्रविधिले दैनिक आवागमनलाई अझ किफायती बनाउनुका साथै कार्बन उत्सर्जन घटाउन पनि सहयोग र्पुयाउने कम्पनीले बताएको छ ।
कम्पनीले दुवै मोडललाई २०२६ जुलाइदेखि दिल्ली र महाराष्ट्रका केही क्षेत्रमा बिक्री सुरू गर्ने जनाएको छ । त्यसपछि चरणबद्ध रूपमा भारतभर विस्तार गरिने योजना बनाएको छ ।
दुवै मोटरसाइकलमा ९७.२ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिन प्रयोग गरिएको छ । ई ८५ इन्धनमा सञ्चालन गर्दा यसले ८ हजार आरपीएममा ८.६ पीएस पावर तथा ६ हजार आरपीएममा ८.३ न्यूटन मिटर टर्क जेनेरेट गर्ने कम्पनीको दाबी छ । यसको प्रदर्शन साधारण पेट्रोल संस्करणको तुलनामा अझ प्रभावकारी बनाइएको छ ।
दुवै मोटरसाइकलमा ई२० देखि ई८५ सम्मको फ्लेक्स फ्युल अनुकूलता, हिरो आईथ्रीएस प्रविधि, नयाँ डिजिटल–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, साइड स्ट्यान्ड इन्जिन कटअफ प्रणाली, ट्युबलेस टायर, परिमार्जित ईसीयू, इन्धन प्रणाली, नयाँ ब्ल्याक तथा लाइम यलो ग्राफिक्स र विशेष फ्लेक्स फ्युल कम्पोनेन्टहरू समावेश गरिएको छ ।


