काठमाडौं । सशस्त्र प्रहरी बलले चिनियाँ नाका हुँदै आयात भएका ७७४ युनिट विद्युतीय सवारी साधन नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीले गए राति ती गाडी मुस्ताङको जोमसोम, पर्वतको कुश्मा, कास्कीको हेम्जा लगायत स्थानबाट अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
ती गाडी मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास गराएर ल्याइएको थियो । सशस्त्र प्रहरी बल, नं. २४ कालिका गण कास्कीका प्रहरी नायब उपरीक्षक खेमनाथ शर्माले माथिल्लो निकायबाट चेकजाँच गर्नु भन्ने निर्देशन आएसँगै विभिन्न ठाउँबाट विद्यतीय गाडी निन्त्रणमा लिइएको जानकारी दिए । ती गाडी बारे अहिले अनुसन्धान भइरहेको उनले बताए ।
‘माथिल्लो निकायबाट कोरला नाका हुँदै आएका गाडी चेकजाँच गर्नु भन्ने निर्देशन आयो । सोही क्रममा विभिन्न स्थानबाट गाडी नियन्त्रणमा लिइएको हो । अहिले अनुसन्धान जारी छ,’ उनले मेरोअटोसँग भने ।
आफूले जाँचपास गरेर पठाएका विद्युतीय गाडी नियन्त्रणमा लिइएको कुनै आधिकारिक जानकारी नआएको मुस्ताङ भन्सार कार्यालयले जनाएको ।
कार्यालयका सूचना अधिकारी अमिन्द्र सिंहले संचार माध्यमबाट विद्युतीय गाडी नियन्त्रणमा लिएको जानकारी थाहा भए पनि हालसम्म आधिकारिक रूपमा कुनै जानकारी प्राप्त नभएको बताए । उनका अनुसार जेठ १२ र १३ गते मात्रै उक्त कार्यालयबाट ६४९ युनिट गाडी जाँचपास भएर छुटेका थिए ।
‘कोरला नाका हुँदै आयात गरिएका विद्युतीय गाडी नियन्त्रणमा लिएको भन्ने समाचार संचार माध्यममा देख्यौं । यसबारे हामीलाई अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन,’ उनले मेरोअटोसँग भने, ‘जेठ १२ र १३ गते मात्रै ६४९ युनिट गाडी जाँचपास भएर यार्डबाट छुटेका थिए ।’ आधिकारिक जानकारी आएपछि मात्रै वास्तविक कुरा थाहा हुने उनको भनाइ छ ।
बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले आफूहरूकाे सबै गाडी नियमित प्रक्रियाबाट भन्सार जाँचपास गरी ल्याएको जानकारी दिइन् ।
‘प्रश्न उठेपछि छानबिन गर्नु राज्यको काम हो, यसमा हाम्रो सहयोग छ ,’ उनले मेरोअटोसँग भनिन् ।


