सेडान र एसयूभीको मिश्रण शैली प्रयोग भएको ‘आयोनिक भी’

काठमाडौं । हुन्डाईले चीनको लागि तयार पारेको आयोनिक भीका विषयमा धेरै कुरा बाहिर आएका छन् । हुन्डाईले बेइजिङ अटो शोमा देखाएको आयोनिक भी अब बजारको लागि तयार भएको देखिन्छ ।

हुन्डाईले यसअघि ल्याएको आयोनिक फाइभ र आयोनिक सिक्सभन्दा विल्कुलै पृथक लाग्ने आयोनिक भी ‘दी ओरिजिन’ डिजाइन ल्याङ्गवेजमा बनाएको हो । सेडान र एसयूभी शैलीलाई मिसाएर बनाएको आयोनिक भी क्रसओभर मोडल हो ।

यसमा फ्रेमलेस डोर, फ्लस टाइप डोर ह्याण्डल र सम्पूर्ण लाइट एलईडी प्रयोग गरिएको छ । इन्टेरियरमा २७ इन्च लामो ‘फोरके’ पानोरामिक डिस्प्ले दिइएको छ । उक्त डिस्प्ले इन्ट्रुमेन्ट क्लष्टर र इन्फोटेन्टमेन्ट सिस्टम दुबैको लागि हो ।

अहिलेसम्मकै उन्नत हेडअप उपलब्ध हुने भनिएको आयोनिक भीमा भ्वाइस कन्ट्रोल एआई असिस्ट र क्वालकमको स्न्यापड्रागन ८२९५ चिप प्रयोग हुनेछ । यसमा डल्बी एट्मोस सपोर्ट भएको अडियो सिस्टम पाउन सकिन्छ ।

हुन्डाईका अनुसार आयोनिक भी ब्याट्री इलेक्ट्रीक र रेन्ज एक्सटेन्डेड हाइब्रिड मोडलको रूपमा आउने छ । यसमा रेटेड पावर १४० किलोवाट र १६८ किलोवाटको मोटर प्रयोग हुनेछ ।

कम्पनीले ८०० भोल्ट आर्किटेक्चरमा तयार पारेको आयोनिक भी हाइ स्पीड डीसी चार्जर सपोर्ट गर्न सक्षम छ । यसमा कुन साइजको ब्याट्री प्रयोग भएको छ भन्ने जानकारी बाहिर आएको छैन । तर, ब्याट्री भने सीएटीएलले उत्पादन गरेको प्रयोग हुनेछ ।


Back_to_top