काठमाडौं । विश्व अटोबजारमा आफ्नो पकड जमाउँदै लगेका चिनियाँ अटोमोबाइल कम्पनीहरूले व्यापार बढाउन नयाँ रणनीति अपनाउन थालेका छन् ।
अहिले विश्वका ठूलो अटो बजार युरोप, अमेरिका लगायतमा चिनियाँ गाडी माथि चर्को भन्सार शुल्क र कडा स्थानीय नियमहरू लगाइएको छ । जसले उनीहरूले अपेक्षित व्यापार बढाउन सकेका छैनन् ।
यस्तोमा चिनियाँ कम्पनीहरूले आफ्ना गाडीको बिक्री बढाउन नयाँ योजना ‘क्रस बोर्डर लिजिङ (सीमापार भाडा प्रणाली)’ अघि सारेका हुन् ।
चीनको प्रतिष्ठित आर्थिक पत्रिका ‘नेसनल बिजनेस डेली’का अनुसार अब चिनियाँ कम्पनीहरूले विदेशी ग्राहकलाई एकै पटकमा गाडी बेच्नुको सट्टा लामो समयका लागि भाडा वा किस्ताबन्दीमा दिने योजना अघि सारेका छन् । अर्थात् अब गाडी बेच्न मात्र नभई लामो समयसम्म सेवा दिने बाटोमा अघि बढेका हुन् ।
यस प्रणाली अन्तर्गत गाडीको मुख्य स्वामित्व चीनकै कम्पनीसँग सुरक्षित रहन्छ । तर, विदेशी ग्राहक वा कम्पनीहरूले ती गाडीहरू निश्चित मासिक वा वार्षिक किस्ता तिरेर प्रयोग गर्न पाउँछन् ।
यो व्यवस्था गाडी किन्ने ग्राहक र बेच्ने चिनियाँ कम्पनी दुवैका लागि फाइदाजनक देखिन्छ । ग्राहकले सुरूमै ठूलो रकम खर्चेर गाडी किन्नु नपर्ने भएकाले कम बजेट भएका ग्राहक वा देशहरूमा पनि चिनियाँ गाडीको माग बढ्नेछ ।
बिक्रेताहरूलाई पनि गाडीको स्वामित्व आफ्नै हुने भएकाले कम्पनीहरूले कर छुटको सुविधा पाउँछन् । साथै, ग्राहकलाई मर्मतसम्भार र बीमा जस्ता सेवाहरूमा लामो समयसम्म बाँधेर निरन्तर आम्दानी गरिरहन पाउँछन् ।
यो व्यापारिक मोडेललाई ‘थोरै सम्पत्ति, धेरै संचालन’ भनिएको छ। यसको अर्थ चिनियाँ कम्पनीहरूले विदेशमा ठूलाठूला कलकारखाना खोल्न वा जग्गा किन्न ठूलो लगानी गरिरहनु पर्दैन। तर, विदेशमा रहेका आफ्ना गाडीहरूको रेखदेख, बिग्रिएमा फिर्ता ल्याउने र किस्ता रकम उठाउने जस्ता व्यवस्थापकीय काम भने निकै बलियो बनाउनुपर्ने हुन्छ ।
अहिलेका लागि चिनियाँ कम्पनीहरूले सिधै सर्वसाधारण (व्यक्तिगत ग्राहक) लाई गाडी भाडामा दिनुको सट्टा ठूला व्यावसायिक कम्पनीहरूलाई प्राथमिकता दिएका छन् । उनीहरूले विशेष गरी अनलाइन ट्याक्सी (राइड हेलिङ) जस्ता कम्पनीलाई लक्षित वर्गमा राखेका छन् । व्यक्तिगत ग्राहकको तुलनामा कम्पनीको वित्तीय स्थिति बुझ्न र जोखिम कम गर्न सजिलो हुने भएकाले कम्पनीलाई प्राथमिकतामा राखेका हुन् ।
हुआसेङनामको चिनियाँ लिजिङ कम्पनीले दक्षिण अफ्रिका र उज्वेकिस्तानमा यो सेवा सुरू गरिसकेको छ । अब पाकिस्तानमा पनि विस्तार गर्दैछ । हालसम्म डोङफेङ, चेरी, जीएसी र बीएआइसी जस्ता चीनका ३० बढी अटो उत्पादकले यो नयाँ प्रणालीमा काम गर्न इच्छा देखाइसकेका छन्।
सन् २०२६ मा चिनियाँ गाडीको निर्यात उल्लेख्य रूपमा वृद्धि भएको छ । चार महिना (अप्रिल)सम्ममा ३१ लाख २७ हजार युनिट गाडी निर्यात गरिसकेका छन् । जसमा झण्डै आधा संख्या इलेक्ट्रीक र हाइब्रिड गाडीहरू रहेका छन् ।


