काठमाडौं । प्रिमियम एड्भेन्चर मोटरसाइकल खोज्नेहरु बढ्दै जाँदा बजारमा नयाँ ब्राण्डहरु थपिने क्रमपनि जारी छ ।
कुनै समय एड्भेन्चर सेग्मेन्ट भनेपछि होन्डा लगायत सिमित ब्राण्डको नाम मात्रै आउथ्यो । बजारमा एड्भेन्चर डिजाइन मनपराउन थालिएसँगै केटीएम, सीएफमोटो, रोयल इनफिल्ड जस्ता ब्राण्डले एड्भेन्चर टुरिङ संस्कृतिलाई थप लोकप्रिय बनाए ।
अहिले पनि एड्भेन्चर सेग्मेन्टमा नयाँ ब्राण्ड र मोडलहरु थपिदै गएका छन् । यही क्रममा नयाँ ब्राण्डको रुपमा नेपाली बजारमा मोर्बिडेलीको प्रवेश भएको छ ।
इटालियन मोटरसाइकल ब्रान्ड मोर्बिडेली बैद्यज् ग्रुप अन्तर्गत आयात हुन थालेको हो । कम्पनीले टी-१००२ भीएक्स, टी-५००२ एक्स र टी-३५२ एक्स गरी तीन नयाँ एड्भेन्चर मोडल सार्वजनिक गरेको हो । त्यसमध्ये हामीले यहाँ चर्चा गरेको टी-३५२ एक्स हो ।
यसको मूल्य ९ लाख ९६ हजार ९०० रुपैयाँ तोकिएको छ । मोटरसाइकलको इन्जिन, मूल्य र पावरको हिसावले यो सस्तो मानिन्छ । त्यसैले यसका ५ बलिया पक्षको बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।
प्यारालल ट्वीन-सिलिन्डर इन्जिन
टी-३५२ एक्सको सबैभन्दा बलियो पक्ष इन्जिन सेटअप हो । यसमा ३४९.२ सीसीको लिक्विड-कुल्ड, डीओएचसी, प्यारालल ट्वीन सिलिन्डर, इएफआई इन्जिन प्रयोग भएको छ ।

यो ट्वीन सिलिन्डर इन्जिनले अधिकतम ४१ हर्सपावर र ३१.५ एनएम टर्क जेनेरेट गर्छ । टी-३५२ एक्सको टप स्पीड १४० किलोमिटर प्रतिघण्टा छ । यसमा ६ स्पीड गियरबक्स उपलब्ध छ ।
टी-३५२ एक्स मोटरसाइकलले लामो दूरीको यात्रा, हाइवे क्रुजिङ, पहाडी अफरोड र उकालो बाटोमा पनि स्मुथ तथा शक्तिशाली प्रदर्शन गर्छ ।
एड्भेन्चर-रेडी हार्डवेयर डिजाइन
झट्ट हेर्दा नै टी-३५२ एक्स अफरोडमा दौडाउने मोटरसाइकलको ‘अपिलिङ’ दिन सक्षम छ । ‘एड्भेन्चर-रेडी ट्रेल हार्डवेयर डिजाइन’ र १८० किलोग्राम मात्रै तौल हुनु यसको बलियो पक्ष हो ।
टी-३५२ एक्समा अगाडि ४१ एमएमको अपसाइड डाउन टेलिस्कोपिक फोर्क र पछाडि एड्जस्टेवल मल्टि लिकं अब्जरर्बार दिएको छ । लामो ट्राभल सस्पेन्सन सेटअप, अगाडि १९ इन्च र पछाडि १७ इन्चको ट्युवलेस स्पोक ह्विल दिएको छ ।
कम्पनीले टी-३५२ एक्समा ट्युबलेस पिरेली टायर र १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स उपलब्ध गराएको छ । त्यस्तै, यसमा भएको एलईडी प्रोजेक्टर हेड्ल्याम्प, टेलल्याम्प, टर्न इन्डिकेटर्स र डीआरएलले रातीको समयमा राम्रो भिजिबलिटी दिन्छ ।
बोस एबीएस सहित अफरोड मोड
युरोपियन कम्पनीले टी-३५२ एक्समा बोसको डुअल च्यानल एबीएस र पिस्टन क्यालिपर डुअल डिस्क ब्रेक सिस्टम दिएको छ । यसमा पाइने अफरोड मोड सक्रिय गरेपछि पछाडिको एबीएस बन्द हुने भएकाले कच्ची तथा ढुंगामाटो भएका सडकमा थप नियन्त्रण प्राप्त हुन्छ ।
तीन राइडिङ मोड र ट्रयाक्सन कन्ट्रोल
मोटरसाइकलमा स्ट्यान्डर्ड, स्पोर्ट र अफरोड गरी तीन राइडिङ मोड उपलब्ध छ । साथै, ट्रयाक्सन कन्ट्रोल, डुअल केबल थ्रोटल कन्ट्रोल र टायर मनिटरिङ जस्ता आधुनिक सुरक्षा प्रणालीले राइडिङलाई थप सुरक्षीत बनाउने र टायर ग्रिपिङलाई पनि मजबुत बनाउने छ ।
७ इन्चको टीएफटी डिस्प्ले र स्मार्ट कनेक्टिभिटी

टी-३५२ एक्समा भर्टिकल ७ इन्चको डे एण्ड नाइट स्क्रिन मोडसहितको टीएफटी डिस्प्ले दिएको छ । जसमा ब्लुटुथ कनेक्टिभिटी सिस्टम, टी-बक्स एलओटी कनेक्टिभिटी, जीपीएस नेभिगेसन, एसओएस पेनिक बटन, एन्टी-थेफ्ट रिमोट कटअफ, स्मार्टफोन मिररिङ लगायत राइडरलाई आवश्यक पर्ने एपहरु कनेक्ट गर्न सकिन्छ ।
निष्कर्ष
नेपालमा एड्भेन्चर मोटरसाइकल रोज्ने ग्राहकहरू अहिले केवल इन्जिन क्षमतामा मात्र केन्द्रित छैनन् । उनीहरू लामो दूरीको यात्रा, स्मार्ट फिचर, आरामदायी राइडिङ पोजिसन, इन्धन क्षमता र सुरक्षा प्रविधिलाई समान महत्व दिन थालेका छन् । यही कारण मोर्बिडेली टी-३५२ एक्सले बजारमा प्रवेश गर्नासाथ धेरैको ध्यान खिच्न सफल भएको हो ।


