क्रेटा ईभी किन्ने कि ई-भिटारा ? हेरौं यी तथ्य

काठमाडौं । हुन्डाईले एक वर्ष अगाडि नै क्रेटा ईभी नेपाल ल्याएको थियो । पहिलो वर्ष ३५० युनिट माथि क्रेटा ईभी बिक्री गरेसँगै दोस्रो वर्षको बिक्री भर्खरै थालेको हो ।

भारतमा उत्पादन भएको क्रेटा ईभी दुई मोटर अप्सन र दुई ब्याट्री अप्सनमा उपलब्ध थियो । त्यसैले १२६ किलोवाट क्षमताको मोटर भएको क्रेटा ईभी मूल्यको हिसाबले निकै महंगो बन्यो ।

सानो ९९ किलोवाटको मोटरमा आएको क्रेटा ईभीको मूल्य अहिले सुजुकीले बिक्री थालेको ई-भिटारा सरह नै छ । दुबै मोडलको सबै भेरियन्ट ६० लाखभन्दा कम मूल्यमै बिक्रीको लागि उपलब्ध छ ।

हुन्डाई क्रेटा ईभी ४२ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध छ । यसमा एनसीएम ब्याट्री छ । त्यसैले सानो ब्याट्री भएपनि क्रेटाको रेन्ज राम्रो पाउन सकिन्छ ।

सुजुकीले ई-भिटारामा ४९ र ६१ किलोवाट आवरको ब्याट्री दिएको छ । सानो ब्याट्रीमा एउटा मात्रै भेरियन्ट पाउन सकिन्छ । जबकी ठूलो ब्याट्रीमा ३ भेरियन्ट छन् ।

मूल्यमा कति फरक ?

हुन्डाईले एजुकेटीभ भेरियन्टको मूल्य ५१ लाख ९६ हजार, स्मार्ट (अप्सनल) भेरियन्टको ५६ लाख ९६ हजार र प्रिमियम प्लस भेरिन्टको ५९ लाख ९६ हजार तोकेर बिक्री गर्दै आएको छ ।

सुजुकीले ई-भिटाराको इन्ट्री भेरियन्ट ४९ किलोवाट आवरको ब्याट्रीमा ल्याएको छ । यसको मूल्य ४८ लाख ९९ हजार तोकेर बिक्री थालेको हो ।

ई-भिटाराको जेटा भेरियन्टमा ६१ किलोवाट आवरको ब्याट्री छ । यसको मूल्य ५२ लाख ९९ हजार कायम गरिएको छ । अल्फा भेरियन्टको मूल्य ५८ लाख ९९ हजार र अल्फाकै ड्यूल टोन भेरियन्ट किन्नेले ५९ लाख ४९ हजार रुपैयाँमा पाउने छन् ।

दुबै ब्राण्डले लगभग उस्तै मूल्य राखेर बिक्री थालेका छन् ।

साइजमा कति फरक ?

साइजको कुरा गर्दा क्रेटा ईभीको लम्बाइ ४३४० एमएम, चौडाइ १७९० एमएम, उचाइ १६५५ एमएम रहेको छ । यसको ह्वीलबेस २६१० एमएम छ ।

मारुती सुजुकी ई-भिटाको लम्बाइ ४२७५ एमएम, चौडाइ १८०० एमएम, उचाइ १६३५ एमएम र ह्वीलबेस २७०० एमएमको छ । साइजका आधारमा लम्बाइ र उचाइ क्रेटा ईभीको बढी छ भने चौडाइ र ह्वीलबेस ई भिटाराको धेरै रहेको छ ।

ईभीमा धेरै चासो दिइने ग्राउण्ड क्लियरेन्स क्रटा ईभीको २०० एमएम रहेको छ भने ई-भिटाराको १८० एमएम मात्र छ ।

ब्याट्री, रेन्ज र पफर्मेन्स

इलेक्ट्रीक भेहिकलमा मुख्य प्राथमिकतामा पर्ने रेन्ज मारुती सुजुकीको ई-भिटाराको धेरै रहेको छ । सुजुकी इभिटारामा ४९ र ६१ किलोवाट आवरको एलएफपी ब्याट्री छ । ई-भिटारमा ४९ किलोवाटको ब्याट्रीप्याकसँग १०८ किलोवाटको मोटर दिएको छ भने ६१ किलोवाट आवरको ब्याट्रीप्याकसँग १२८ किलोवाटको मोटर दिएको छ ।

यसले ३५० देखि ४३० किलोमिटरसम्म रेन्ज दिन सक्ने देखिन्छ ।

हुन्डाई क्रेटामा ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवरको एनसीएम ब्याट्री प्याक छ । सानो ब्याट्रीसँग ९९ किलोवाटको मोटर दिएको छ । ठूलो साइजको ब्याट्री प्याकसँग १२६ किलोवाटको मोटर छ ।

क्रेटा ईभीको सानो साइजको ब्याट्री र मोटरको कम्पोजीसनले ३३० र ठूलो साइजको मोटर र ब्याट्रीको कम्पोजिसनले ४२० किलोमिटरसम्म रेन्ज दिन सक्छ ।

फिचर र टेक्नलोजी

हुन्डाई क्रेटा ईभीमा इन्फोटेन्मेन्ट र इन्ट्रुमेन्ट क्लस्टरका लागि ड्युल १०.२५ इन्चको कनेक्टेड स्क्रीन रहेको छ । यसमा प्यानारोमिक सनरुफ, भेन्टीलेटेड सिट, ड्युलजोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, भेहिकल टू लोड टेक्नलोजी, ८ स्पीकर सहितको बोसको साउण्ड सिस्टम, स्टेरिङ कोलुम माउण्टेड गियर सिफ्टर, मल्टी ड्राइभ मोड, आई पेडल ड्राइभिङ, वायरलेस फोन चार्जर आदि फिचर दिएको छ ।

सुरक्षाको लागि क्रेटा ईभीमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, टायर प्रेसर मनिटरिङ सिस्टम, फ्रन्ट एण्ड रियर पार्किङ सेन्सर, हिल स्टार्ट एण्ड डिसेन्ट असिस्ट, इलेक्ट्रीक पार्किङ ब्रेकको साथमा लेभल २ एडास सुट समेत रहेको छ ।

त्यस्तै, ई-भिटारामा पनि इन्फोटेन्मेन्ट र इन्स्ट्रुमेन्ट क्लस्टरको लागि फ्लोटिङ ड्युल कनेक्टेड स्क्रीन, भेन्टिलेटेड फ्रन्ट सिट, १० वे पावर एड्जस्टेबल ड्राइभर सिट दिइएको छ । साथै, रोटरी गियर सेलेक्टर, मल्टी ड्राइभ मोड, वायरलेस फोन चार्जिङ प्याड, टुस्पोक स्टेरिङ ह्वील, रेक्ट्रयाङगुलर एसी भेन्ट पाउन सकिन्छ ।

सुरक्षाको लागि ई भिटारामा अटोहोल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक, हिल डिसेन्ट कन्ट्रोल, सिंगलजोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, प्यानारोमिक सनरुफ आदि फिचर रहेको छ । सुरक्षाको लागि यो ईभीमा ७ वटा एयरब्याग, ३६० डिग्री क्यामरा तथा लेबल २ एडास भिचर रहेको छ ।

निस्कर्ष

सुजुकीले पहिलो पटक ई-भिटारा मार्फत इलेक्ट्रीक कार उत्पादनमा हात अगाडि बढाएको हो । सायद, त्यसैले ई-भिटारा धेरै हदसम्म पेट्रोलबाट चल्ने एसयूभी जस्तो देखिन्छ ।

हुन्डाईले विगतदेखि नै ईभी उत्पादनमा काम गरेको कारण क्रेटालाई निकै इफिसियन्ट बनाउन सफल भएको छ । तर, क्रेटा ईभी पनि आइसीई क्रेटालाई नै रेट्रोफिट गरेर ईभी बनाइएको हो ।

कोरियन ब्राण्ड र जापानी ब्राण्डको ईभी प्रति चासो राख्नेलाई यी दुबै मोडल उत्कृष्ट छन् । हुन्डाईसँग ईभी बिक्री, सर्भिस र दक्ष जनशक्तिको मामलामा धेरै अनुभव छ ।


Back_to_top