इलेक्ट्रीक स्कुटर दर्ता नगरी चलाउनु भएको छ, कारबाहीमा पर्नुहोला

काठमाडौं । यातायात व्यवस्था विभागले दर्ता नभएका इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल चलाउन रोक लगाउने भएको छ । विभागले ट्राफिक प्रहरीसँगको समन्वयमा बिना दर्ता सञ्चालित इलेक्ट्रीक दुईपांग्रे सवारीलाई कारबाही गर्ने भएको हो ।

विभागले विहीबार सूचना जारी गर्दै यान्त्रिक शक्तिबाट सञ्चालनमा आएका मोटरसाइकल तथा स्कुटरलाई दर्ता गरेर मात्र चलाउन भनेको छ । यातायात व्यवस्था ऐन २०४९ को दफा १४ मा अनिवार्य रुपमा सवारी दर्ता गर्नुपर्ने भनेकाले दर्ता नगरी सञ्चालन गरेको भेटिए त्यही ऐनको दफा १६० को उपदफा २ बमोजिम कारबाही गरिने निर्णय भएको सूचनामा उल्लेख छ ।

इलेक्ट्रीक स्कुटरहरु बिना दर्ता सडकमा सञ्चालन भइरहेको पाइएको हुँदा त्यस्ता सवारीहरु दर्ता गरेर मात्र सडकमा सञ्चालन गर्न आग्रह गर्दै यातायात व्यवस्था विभागले त्यसरी सञ्चालन गरेको भेटिए कारबाही गरिने जनाएको हो ।

इलेक्ट्रीक सावरीले पनि इन्धनबाट चल्ने सवारी सरह पावरमा कुद्ने भएकाले दर्ता अनिवार्य भएको विभागको भनाई । दर्ता नगरि सवारी चलाउँदा दुर्घटनामा परे नियमन गर्न अप्ठेरो परेको ट्राफिक प्रहरीले जनाएको छ ।

दर्ता नभएका सवारी गुडाउन सवारी चालक अनुमती पत्र समेत नचाहिने भएकाले ट्राफिक प्रहरीले यस्ता सवारीलाई दर्ता गर्ने व्यवस्था मिलान विभागलाई पटक पटक आग्रह गर्दै आएको थियो ।


Back_to_top