काठमाडौं । युरोपियन बजारमा बिक्री गर्दै आएको बायोन अब भारतमा पनि बन्ने भएको छ । भारतमा उत्पादन हुने बायोन ‘कम्प्याक्ट युटिलीटी भेहिकल’ (सीयूभी) को रुपमा ल्याउन लागिएको हो ।
सिधा भाषामा भन्दा हुन्डाइले बायोनलाई क्रसओभर एसयूभीको रुपमा ल्याउने छ । भारतमा उत्पादन थालेसँगै दक्षिण एशियाली देशमा पनि यसको बिक्री सुरु हुने अनुमान गर्न सकिन्छ ।
साइजको आधारमा हेर्दा बायोन क्रसओभर ४१८० एमएम लामो हुनेछ । जुन हुन्डाई भेन्यूभन्दा लामो हो । साइजको आधारमा भेन्यूभन्दा ठूलो क्रसओभर भएपनि बजारमा आउँदा मूल्यका आधारमा भेन्यूभन्दा तल र एक्सटरभन्दा माथि रहने अनुमान गरिएको छ ।
युरोपमा सन् २०२१ देखि नै उपलब्ध बायोन क्रसओभर मोडलमा हुन्डाईले १.२ लिटर टर्बो इन्जिन दिने सम्भावना धेरै छ । जसको रेन्ज १४० हर्स पावर हुनेछ । अहिले भारतका विभिन्न क्षेत्रमा यसको परीक्षण भइरहेको तस्बिरहरु बाहिर आइरहेका छन् ।
बाहिर आएको तस्बिर अनुसार बक्सी डिजाइनमा नयाँ क्रसओभर आउने अनुमान गर्न सकिन्छ । वारपार फैलिएको एलइडी लाइटबार र ठाडो पारेर दिइएको हेडलाइट हाउजिङले अगाडिको लुकमा ठूलो परिवर्तन ल्याएको छ । गाडीको समग्र डिजाइन निकै सार्प लाग्छ ।
कोरियन कार निर्माताले यसको क्याविन पनि फिचर लोडेड र हाइटेक बनाएर ल्याउने छ । यसमा १२.३ इन्चको दुई जोडिएका स्क्रीन, केही बटनहरुको प्रयोग गर्नेछ । यसमा हुन्डाईको पछिल्लो प्लेओस कनेक्ट अपरेटिङ आर्किटेक्चर दिन्छ वा दिन्न भन्ने एकिन भएको छैन ।
हुन्डाईले भारतमा उत्पादन गर्ने बायोन सन् २०२६ अक्टोबर महिनामा सार्वजनिक हुने अनुमान गरिएको छ ।


