काठमाडौं । हिमालयन बैंकले विभिन्न समयमा कर्जा लिएर साँवा ब्याज नतिर्ने भुक्तानी नगर्ने ऋणीको स्वामित्वमा रहेका ३३७ वटा भेस्पा अप्रिलियाका स्कुटर तान्ने भएका छन् ।
बैंकले १५ दिने सूचना जारी गर्दै धितोमा रहेका ती सवारी साधन नियन्त्रणमा लिई लिलामी प्रक्रिया अघि बढाउने जानकारी दिएको हो ।
बैंकका अनुसार ती स्कुटर बुटवलको जेमिनी लाइफस्टाइल्स प्रालिले धितो राखी बैंकबाट ऋण लिएको थियो । उक्त कर्जा भुक्तानीको लागि पटक पटक ताकेता गर्दा पनि ऋणी हालसम्म उपस्थित नभएकाले बाध्य भएर कानुनी प्रक्रिया अघि बढाइएको बैंकले जनाएको हो ।
जेमिनी लाइफस्टाइल्स दुगड ग्रुपको साविकको भेस्पा अप्रिलियाको बुटवलको आधिकारिक डिलर हो । यसको संचालक दीपक श्रेष्ठ र विष्णुकुमारी डुम्रे हुन् ।
बैंकका अनुसार ती स्कुटरहरू अहिले तेस्रो पक्षले प्रयोग गर्दै आएका छन् । अर्थात् जेमिनीले ग्राहकलाई बेचिसकेको छ । तर, ग्राहकको नाममा भने नामसारी भएको छैन ।
कम्पनीले बैंकबाट ती स्कुटर धितो राखी ऋण लिए पनि नियमति साँवा ब्याज तिरेको थिएन । बैंकको ऋण नतिरे पनि कम्पनीले ती स्कुटर ग्राहकलाई बिक्री गरेर पैसा असुलेको थियो । तर, कम्पनीले समयमै नामसारी नगरिदिएकाले अहिले ग्राहक फस्ने अवस्था आएको हो ।
सामान्यतया नगदमै सवारी साधन खरिद गर्दा पनि बिक्रेताले ग्राहकको नाममा नामसारी गरिदिन १५ दिनदेखि १ महिनासम्म लगाउने गरेका छन् । किस्ताबन्दीका खरिद गर्दा भने ऋण चुक्ता नभएसम्म ग्राहकको नाममा ब्लूबुक आउँदैन ।
यहाँ जेमेनीले बिक्री गरेका ३३७ स्कुटर मध्ये कति नगद र कति फाइनान्स सुविधामा बिक्री भएका थिए भन्ने खुलेको छैन । तर, नगद वा किस्ताबन्दी जेमा खरिद गरेको भए पनि कम्पनीले नामसारी नगरिदिने हो भने ग्राहक फस्ने देखिन्छ ।
बैंकले जेमेनीले धितो राखेका ती स्कुटर आफ्नो नाममा रहेकाले नजिकको शाखामा बुझाइदिन ग्राहकलाई अनुरोध समेत गरेको छ । ‘यस बैंकको नाममा दर्ता रहेको तपसीलमा उल्लेखित सवारी साधनहरू तेश्रो पक्षले संचालन तथा उपभोग गर्दै आएको बुझिएको हुँदा जो, जसले जहाँ, जे जस्तो अवस्थामा उपभोग गरिरहेको भए, यो सूचनाको म्यादै भित्र यस बैंकको नजिकको शाखामा बुझाई दिनहुन सूचित गरिन्छ,’ बैंकले सूचनामा भनेको छ, ‘अन्यथा नेपाल राष्ट्र बैंक ऐन २०५८, नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, बैंक तथा वित्तीय संस्था ऐन २०७३ तथा प्रचलित नेपाल कानुन बमोजम धितोमा रहेका सवारी साधनहरू जो, जससँग, जहाँ जे जस्तो अवस्थामा छ, सोही स्थानबाट नियन्त्रणमा लिई कर्जा असुली प्रक्रिया अगाडि बढाइने जानकारी गराइन्छ ।’
कम्पनीका संचालक श्रेष्ठले भने ग्राहकलाई आफूले धोका नदिने र आँत्तिनु नपर्ने बताए । उनले आफूले जग्गा बेचरै भए पनि बैंकको ऋण तिर्ने र ग्राहकलाई चाँडै स्कुटर नामसारी गरिदिने बताए ।
‘मैले बैंकबाट ऋण लिएको थिएँ । कोरोना, आर्थिक मन्दी लगायत समस्याले समयमै पूरै तिर्न सकिएन । अहिले पनि बैंकको सम्पर्कमै छु । थप जग्गा धितो राखेर ऋण तिर्न प्रक्रिया अघि बढाइसकेको छु,’ उनले मेरोअटोसँग भने, ‘ग्राहक आँत्तिनु पर्दैन । चाँडै बैंकको ऋण तिरी सबै ग्राहकलाई स्कुटर नामसारी गरिदिन्छु । तिर्न बाँकी भए सवारी कर समेत मैले नै तिरिदिन्छु । सबै जना ढुक्क हुनुभए हुन्छ ।’
त्यस्तै, बैंकले श्रेष्ठ नै संचालक तथा जमानी रहेको हाइवे अटो कन्सर्न प्रालि, जुपिटर अटो कन्सर्न र हाइवे ह्वील्स अटो प्रालिको नाममा रहेका १९ वटा कार पनि जफत गरी लिलामी गर्ने सूचना जारी गरेकेा छ ।
*सच्याइएको : सम्पादक ।


