इमास फाइभ टेस्ट ड्राइभ : हेर्दा आकर्षक, चलाउँदा झन् गज्जब

तान्जुङ मालिम (मलेसिया) । नेपाल ‘ईभी एसेप्टेन्स हाइ’ हुने देशको सूचीमा विश्वमै अग्र स्थानमा छ । अहिले बिक्री हुने कुल नयाँ कारमध्ये ७० प्रतिशत बढी हिस्सा ईभीको पुगेको छ ।

नेपालमा हाल ३ दर्जन बढी ब्राण्डका ईभी उपलब्ध छन् । जसमा चिनियाँ ईभीको वर्चश्व छ । यही भीडमा मलेसियन ब्राण्ड प्रोटोनले पनि प्रतिस्पर्धामा आफूलाई उभ्याएको छ । यद्यपि, प्रोटोनले चिनियाँ अटो कम्पनी जिली अटोको प्रविधि र प्लेटफर्ममा उपयोग गर्दै ईभी उत्पादन गर्छ ।

नेपालमा डेढ वर्षअघि इमास सेभेन एसयूभी मार्फत प्रोटोनको ईभीमा इन्ट्री भएको थियो । प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले प्रतिस्पर्धी बजारमा आफ्नो पोर्टफोलियो बढाउन चाँडै नयाँ इलेक्ट्रीक ह्याचब्याक इमास फाइभ समेत ल्याउँदै छ ।

कम्पनीले अर्को सातादेखि इमास फाइभको बुकिङ खुलाउने र असार भित्रै लन्च गर्ने तयारी गरिरहेको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा दुई मोटर र दुई ब्याट्री अप्सनमा रहेको इमास फाइभ प्राइम र प्रिमियम दुई भेरियन्टमा उपलब्ध छन् । नेपालमा पनि दुवै भेरियन्ट आउने पक्का भइसकेको छ ।

प्रोटोन नेपाल (जगदम्बा मोटर्स)को तर्फबाट हामी एकटोली मलेसिया प्रोटोनको फ्याक्ट्री भिजिट गएका थियौं । सोही दौरान चाँडै नेपाली बजारमा आउने नयाँ ह्याचब्याक इमास फाइभ टेस्ट ड्राइभ गर्ने अवसर मिलेको थियो । प्रोटोनको फ्याक्ट्रीकाे ट्रयाकमा छोटो समयमा गरिएको टेस्ट ड्राइभ अनुभवका आधारमा यसका बलिया पक्ष बारे यहाँ चर्चा गरिएको छ ।

आकर्षक डिजाइन : प्रिमियम र आधुनिक लुक भएको इमास फाइभको डिजाइन निकै स्लिक र एरोडाइनमिक छ । यसमा आकर्षक फेदर स्टाइलको हेडलाइट, एरो शेप एलईडी डीआरएल दिइएको छ । प्रिमियम भेरियन्टमा एलईडी प्रोजेक्टर हेडल्याम्प पाउन सकिन्छ ।

१६० एमएमको ग्राउण्ड क्लियरेन्स भएको इमास फाइभको बेस भेरियन्टमा १५ इन्चको स्टील ह्वील र प्रिमियममा १६ इन्चको आकर्षक अलोय ह्वील दिइएको छ । प्रिमियम भेरियन्ट ड्यूलटोन कलरमा छ भने सानो ह्याचव्याक कारमा पावर्ड टेलगेट समेत छ ।

इमास फाइभको लम्बाइ ४१३५ एमएम, चौडाइ १८०५ एमएम र उचाइ १५७० एमएम छ । यसमा २६५० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । जसको कारण क्याबिनमा एथेस्ट स्थानसँगै लक्जरी यात्राको फिल दिन इमास फाइभ सक्षम छ ।

दुई ब्याट्री र मोटर अप्सन : इमास फाइभ दुई ब्याट्री र मोटर अप्सनमा उपलब्ध छ । यसमा ५८ किलोवाटको मोटर भएको प्राइम भेरियन्टमा ३०.१२ किलोवाटको सीएटीएलको एलएफपी ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा २२५ किमी रेन्ज दिने डब्लूएलटीपी टेस्टले देखाएको छ । कारको स्पीड पनि राम्रै छ, ४.४ सेकेण्डमा शून्यदेखि ५० किमी प्रतिघण्टाको गति भेटाउन सक्छ ।

त्यस्तै, प्रिमियम भेरियन्टमा ८५ किलोवाटको मोटर छ । जसले १५० न्युटन टर्क प्रदान गर्छ । यसमा ४०.१६ किलोवाट आवरको ब्याट्री छ । जसले फुलचार्जमा ३२५ किमी रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसले ७ किलोवाटको एसी र ७१ किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । जसलाई २१ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

चिटिक्कको क्याबिन : यसको क्याबिन आकर्षक र फराकिलो छ । यसमा १४.६ इन्चको ठूलो एफएचडी इन्फोटेनमेन्ट टचस्क्रीन र ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ । प्रोसेसरमा अटोमेटिक ग्रेड चिप र एटलास अटो अपरेटिङ सिस्टम रहेकाले यसको टच र सिस्टम निकै फास्ट चल्छ ।

यसमा वायरलेस एप्पल कार प्ले, एन्ड्रोइड अटो, प्रिमियम लेदर सिट, टु टोन लेदर स्टेयरिङ ह्वील, प्यानोरामिक भ्यू, पर्याप्त लेगरुम, पछाडिको लागि पनि एसी भेन्ट, मोबाइल चार्जिङ पोर्ट, ६ वटा स्पिकर (प्रिमियम भेरियन्टमा) छ । यो कारबाट अन्य विद्युतीय उपकरण चलाउन भीटूएल सुविधा पनि छ ।

पर्याप्त स्टोरेज क्षमता : ह्याचब्याक भइकन पनि स्टोरेज क्षमता धेरै हुनु इमास सेभेनको अर्को बलियो पक्ष हो । यसमा नियमति रूपमा प्रयोग गर्न सकिने कुल ४९३ लिटरको स्टोरेज क्षमता छ । जसमा ३७० लिटरको बुट स्पेस, बोनेट मुनि ७० लिटरको फ्रन्क्स, २८ लिटरको अण्डर सिटसहित विभिन्न साना स्टोरेज कम्पार्टमेन्टहरू छन् ।

आवश्यकता पर्दा पछाडिकै सिट फोल्ड गरी बुट स्पेस १३२० लिटरसम्म विस्तार गर्न सकिन्छ । ५ जना आरामाले यात्रा गर्न सकिने यो ह्याचब्याकमा बुट स्पेस धेरै रहेकाले सजिलै धेरै सामान अटाउन सकिन्छ । एउटा पूरै परिवार टुर जानका लागि पनि समस्या हुँदैन ।

इन्डिपेन्डेन्ट सस्पेन्सन : इमास फाइभको पछाडि मल्टि लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सन छ । जुन नेपालका खाल्टाखुल्टी र असन्तुलित सडकका लागि निकै प्रभावकारी र उपयुक्त हुन्छ ।

इन्डिफेन्डेन्ट सस्पेस्नकै कारण खाल्डाखुल्डी सडकमा समेत यसले यात्रुलाई धेरै हल्लाएकाे अनुभव हुँदैन । आरामदायी र स्थिर यात्रा प्रदान गर्छ ।

रियर ह्वील ड्राइभ : एसयूभी सेग्मेन्टका धेरै गाडी रियर ह्वील ड्राइभमा उपलब्ध छन् । जसले राम्रो एक्सेलेरेशन र ह्याण्डलिङ अनुभव दिन्छ । गाडी तीव्र गति मोड्दा पनि सन्तुल दिन्छ । खासै ढक्लिएको अनुभव हुँदैन ।

नेपालको जस्तो कच्ची, घुमाउरो र उकालो सडकका लागि यो निकै उपयुक्त हुने देखिन्छ । नेपालमा अधिकांश ह्याचब्याक फ्रन्ट ह्वील ड्राइभमा रहेकाले रियल ह्वीलमा इमास फाइभ एक मात्र विकल्प हुनेछ ।

सुरक्षा फिचरमा छैन कन्जुस्याइँ : प्रोटोनले इन्ट्री लेभल ह्याचब्याक भए पनि इमास फाइभमा सेफ्टी फिचरमा कन्जुस्याइँ गरेको देखिँदैन । बडी केज स्ट्रक्चरमा बनेको इमास फाइभमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा (थ्रीडी डिस्प्ले ), एन्टी लक ब्रेकिङ सिस्टमसहितको ईबीए लगायतका फिचर छन् ।

त्यस्तै, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, फरवार्ड कोलिजन वार्निङ, एडेप्टिभ क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट, लेन डिपार्चर वार्निङ, रियर क्रस ट्राफिक अलर्ट, डोर ओपनिङ वार्निङसहितको १३ सुविधा भएको एडास फिचर छ । जसले प्रविधिको सहयोगमा ढुक्कले गाडी चलाउन सकिन्छ ।

इमास फाइभमा ठूलो दुर्घटना हुँदा यसको हाई भोल्टेज सिस्टम आफैं कटअफ हुने व्यवस्था मिलाइएको छ ।

अन्त्यमा, नेपालमा चाँडै बिक्री सुरू हुने इमास फाइभ आकर्षक डिजाइन, रियर ह्वील ड्राइभ, इन्डिपेन्डेड सस्पेन्सन, हाइटेक फिचर लगायत कारण एउटा उत्कृष्ट ह्याचब्याकको रूपमा आउने छ । कम्पनीले उचित मूल्यमा बजारमा ल्याएमा प्रतिस्पर्धी माथि भारी पर्ने देखिन्छ । साथै, ग्राहकका लागि भ्यालू फर मनि विकल्प समेत बन्नेछ ।


Back_to_top