महँगियो बीवाइडी एटो टु र थ्री, यस्तो छ नयाँ मूल्य

काठमाडौं । नेपाली बजारमा बीवाइडीका चर्चित इलेक्ट्रीक एसयूभी एटो टु र एटो थ्रीको मूल्य बढेको छ ।

बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले एटो टुको मूल्य ३ लाख ४ हजार र एटो थ्री (एड्भान्स भेरियन्ट) को मूल्य २ लाख रुपैयाँ बढाएको हो ।

यसअघि ४५ लाख ९५ हजार रुपैयाँमा बिक्री हुँदै आएको एटो टुको मूल्य बढेर ४८ लाख ९९ हजार रुपैयाँ पुगेको छ । एटो टु हाल वीवाइडीको सर्वाधिक बिक्री हुने मोडल समेत हो ।

त्यस्तै, एटो थ्रीको एडभान्स भेरियन्टको नयाँ मूल्य ६१ लाख ९९ हजार रुपैयाँ पुगेको छ । यसअघि ५९ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको थियो ।

सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले करको दर बढाएसँगै विद्युतीय सवारीको मूल्यमा उथलपुथल भएको हो । यसअघि नेपाली बजारमा १ दर्जन बढी मोडलका ईभीको मूल्य बढिसकेको छ । यद्यपि, केही मोडलले भने १६ लाख रुपैयाँसम्म घटाएका छन् ।

बीवाइडी एटो टु २०० एमएम ग्राउण्ड क्लियरेन्स भएको एसयूभी हो ।एटो टुमा ५१ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । जसको डब्लूएलटीपी रेन्ज ३४५ किलोमिटर छ ।यसमा मोटर भने १०० किलोवाटको उपलब्ध छ ।

बीवाइडीको ई प्लेटफर्म ३.० मा बनेको एटो टु मोडलको लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम छ । यसमा २६२० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

बीवाइडी एटो थ्रीमा पनि १०० किलोवाटको मोटर छ । यसमा ६०.४८ किलोवाट आवरको ब्याट्रीप्याक छ । जसले एकपटकको फुलचार्जमा ४२५ किलोमिटर रेन्ज दिन्छ ।

एटो थ्रीको लम्बाइ ४४५५ एमएम, चौडाइ १८७५ एमएम र उचाइ १६१५ एमएम छ । यसमा कम्पनीले २७२० एमएमको ह्वीलबेस पाउन सकिन्छ । यसमा ४३४ लिटरको बुट स्पेस उपलब्ध छ ।

बीवाइडी एटो टु र थ्री दुवै फिचर लोडेड एसयूभी हुन् । यिनीहरूमा एडास, ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, भ्वाइस कन्ट्रोल, एप्पल/एन्ड्रोइड कार प्ले, पानोरोकि सनरुफ लगायत आधुनिक फिचर छन् ।


Back_to_top