चिनियाँ हाइब्रिड गाडीमा पनि थप कर लगाउने ईयूको तयारी

काठमाडौं । युरोपेली संघ (ईयू) ले चीनबाट आयात हुने प्लग इन हाइब्रिड सवारी साधनमा पनि अतिरिक्त भन्सार शुल्क लगाउने तयारी गरेको छ ।

सन् २०२४ अक्टोबर ३१ देखि चिनियाँ ईभीमा अतिरिक्त भन्सार शुल्क लगाउँदै आएको ईयूले अब हाइब्रिड कारमा पनि थप कर लगाउने तयारी गरेको हो ।

जर्मन पत्रिका ह्याण्डेल्सब्लाटले वरिष्ठ ईयू अधिकारीहरू र अटोमोबाइल उद्योगका स्रोतहरूलाई उद्धृत गर्दै यससम्बन्धी अनुसन्धान प्रक्रिया अघि बढिसकेको जनाएको हो ।

चीन सरकारले आफ्ना देशका अटो उत्पादकहरूलाई दिँदै आएको अनुदानका कारण युरोपेली बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै ईयूले यो कदम चाल्न लागेको हो ।

यसअघि गत जनवरीमा युरोपेली आयोगले चिनियाँ हाइब्रिड गाडीमा कर बढाउने कुनै योजना नरहेको स्पष्ट पारेको थियो । तर, चिनियाँ गाडीको अनपेक्षित बजार विस्तार र युरोपको बढ्दो व्यापार घाटाका कारण ईयू आफ्नो रणनीति बदल्न बाध्य भएको हो।

प्योर इलेक्ट्रीक ईभीमा भारी कर लागेपछि चिनियाँ कार निर्माताहरूले रणनीति बदल्दै युरोपेली बजारमा प्लग इन हाइब्रिड मोडलहरूको निर्यात तीव्र पारेका थिए । बीवाइडीले मे महिनामा मात्रै ४२९० युनिट हाइब्रिड गाडी दर्ता गर्दै पहिलो पटक जर्मनीको नम्बर एक हाइब्रिड ब्राण्ड बन्न सफल भएको थियो ।

हालसम्म हाइब्रिड गाडीमा ईयूको भुक्तानी नियम अनुसार सामान्य १० प्रतिशत मात्रै आयात शुल्क लाग्ने व्यवस्था थियो । नयाँ व्यवस्था लागू भएपछि चिनियाँ हाइब्रिड गाडीहरूमा पनि साविकको १० प्रतिशत भन्सारमा अतिरिक्त शुल्क थपिनेछ। प्योर ईभीकै अनुपातमा कर बढेमा बीवाइडीलेलाई कुल २७ प्रतिशत, जिली अटोलाई कुल २८.८ प्रतिशत, एसएआइसी मोटरलाई कुल ४५.३ प्रतिशत कर लाग्नेछ ।

गत बिहीबार आयोजित ईयू शिखर सम्मेलनमा युरोपेली नेताहरूले चीनसँगको बढ्दो व्यापार असन्तुलन र ‘रेयर अर्थ’ जस्ता कच्चा पदार्थमा चीनमाथिको अत्यधिक निर्भरता घटाउने विषयमा गहन छलफल गरेका छन् । आगामी केही हप्ताभित्रै हाइब्रिड गाडीमा लाग्ने नयाँ करको औपचारिक घोषणा हुने रिपोर्टमा उल्लेख छ ।

पछिल्लो ह्याण्डेल्सब्लाट रिपोर्ट अनुसार युरोपेली आयोगले आगामी हप्ताहरूमा चिनियाँ हाइब्रिड सवारी साधनहरूमा प्रतिरोधात्मक शुल्क लगाउने योजना बनाएको छ ।


Back_to_top