स्याफ्रुबेँसी-रसुवागढी सडक स्तरोन्नति तीव्र, रुख कटानमा भने समस्या

काठमाडौं । चीन सरकारको अनुदानमा स्तरोन्नति भइरहेको स्याफ्रुबेँसी-रसुवागढी सडकको कामले गति लिएको छ । गत जनवरी (पुस)देखि काम थालेको चिनियाँ पक्षले धमाधम काम गरिरहेको हो ।

गल्छी-त्रिशूली-मैलुङ-रसुवागढी सडक आयोजनाका इन्जिनियर कुमार पराजुलीले अहिले विभिन्न स्थानमा मेसिनरी टेवा पर्खाल निर्माण, पहरा कटिङ तथा सडक सुरक्षासम्बन्धी संरचना निर्माण तीव्र गतिमा निर्माण भइरहेको जानकारी दिए ।

यद्यपि, कतिपय स्थानमा पर्खाल निर्माण र पहरा कटिङको काम सुरु भए पनि लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने केही स्थानमा रूख कटानको अनुमति प्राप्त हुन नसक्दा भित्तो कटानमा केही ढिलाइ भइरहेको उनले बताए ।

उनका अनुसार हालसम्म सडक स्तरोन्नतिको प्रगति करिब ७ प्रतिशत पुगेको छ । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी पुगने यो सडकलाई आधुनिक, सुरक्षित र दिगो बनाउने लक्ष्यसहित निर्माणलाई गति दिइएको इन्जिनियर पराजुलीले बताए।

निर्माण कम्पनीले रोङ्गा दोभानमाथि राजमार्ग नजिकै कामदार तथा प्राविधिकहरूको आवास निर्माण गरिसकेको छ । आवासीय व्यवस्थाले कार्यस्थलमा जनशक्ति परिचालन गर्न सहज भएकाले दिनरात निर्माण सञ्चालन भइरहेको इञ्जिनियर पराजुलीले बताए।

‘गत पुसदेखि स्तरोन्नति थालिएको यो सडकमा धमाधम काम भइरहेको छ । नेपाल सरकारले निर्माणलाई सहज बनाउन स्थानीय खोलाबाट आवश्यक गिट्टी, बालुवा संकलन गर्ने अनुमति प्रदान गरिसकेको छ,’ उनले भने, ‘तर सडक विस्तारका क्रममा कटान गर्नुपर्ने रूखको स्वीकृति पाउन नसक्दा केही क्षेत्रमा निमाएण प्रभावित भइरहेको छ ।’

गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढी र भोटेकोशी नदीको कटानका कारण सडकका विभिन्न भागमा ठूलो क्षति पुगेको थियो। विशेष गरी तातोपानी डाँडा, घट्टेखोला, घट्टेखोलाको दक्षिणी भीर तथा टिमुरे गाउँमुनिको पाखोलगायत क्षेत्रमा सडक संरचना कमजोर बनेपछि स्तरोन्नति कार्यलाई थप प्राथमिकता दिइएको इन्जिनियर पराजुलीले बताए ।

करिब १६ किलोमिटर लम्बाइ रहेको स्याफ्रुबेँसी-रसुवागढी खण्डको स्तरोन्नति सम्पन्न गर्न ३९ महिनाको समयावधि निर्धारण गरिएको छ। सडक स्तरोन्नति सम्पन्न भएपछि नेपाल-चीनबिचको व्यापार, पर्यटन, पारवहन तथा जनस्तरको आवागमन अझ सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

यसैबीच, टिमुरे क्षेत्रमा २०६५ मा अधिग्रहण गरिएको सडकको दायाँबायाँको क्षेत्रभित्र स्थानीय बासिन्दाले पुनः घरटहरा निर्माण गरेकाले त्यस्ता संरचना हटाउन सम्बन्धित पक्षलाई सूचना जारी गरिएको आयोजना कार्यालयले जनाएको छ ।


Back_to_top