काठमाडौं । याडियाले नेपाली बजारमा नयाँ प्रिमियम इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको छ । नेपालका लागि याडियाको आधिकारिक बिक्रेता कुजु नेपालले ‘याडिया कीनेस’ नयाँ ईभी मोटरसाइकलको बिक्री सुरू गरेको हो ।
कम्पनीले प्रिमियम सेग्मेन्टमा आधारित याडिया कीनेस मोटरसाइकलको मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकेको छ ।
कम्पनीका अनुसार कीनेस मोडल दैनिक आवतजावतका लागि मात्र नभई उच्च प्रदर्शन, तीव्र एक्सेलेरेसन, आधुनिक प्रविधि र आकर्षक डिजाइनलाई प्राथमिकतामा राखेर निर्माण गरिएको विद्युतीय मोटरसाइकल हो । यो स्पोर्टी डिजाइनसँगै प्रिमियम प्रविधिमा आधारीत छ । जसले रोमाञ्चक राइडिङ अनुभव प्रदान गर्छ ।
कीनेसमा ११ किलोवाट क्षमताको मिड-ड्राइभ हाइ-पर्फर्मेन्स मोटर जडान गरिएको छ । जसले २८० एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलले ४ सेकेण्डमै ०-५ किलोमिटर प्रतिघण्टाको रफ्तार पूरा गर्छ भने यसको टप स्पीड १०० किलोमिटर प्रतिघण्टा पाउन सकिन्छ ।
मोटरसाइकलमा ४.६ किलोवाट आवर क्षमताको रिमुभेबल लिथियम ब्याट्रीप्याक प्रयोग गरिएको छ । यसमा ४० भन्दा बढी सुरक्षायुक्त ब्याट्री म्यानेजमेन्ट सिस्टम दिइएको छ । यसले एकपटकको फुलचार्जमा १४० किलोमिटरसम्म रेन्ज दिनेछ ।
निकै हाई र लो टेम्प्रेचरमा पनि ब्याट्रीले नर्मल चार्जिङ सहजै लिन्छ । यसमा भएको ब्याट्रीलाई झिकेर चार्ज गर्न सकिन्छ । यो मोटरसाइकलले नेपाली भौगोलिक रोडअनुसार २० डिग्रीसम्मको उकालो सजिलै चढ्न सक्ने क्षमता राख्ने कम्पनीको दाबी छ ।

उत्कृृष्ट रेड डट डिजाइन अवार्डसमेत जितिसकेको कीनेस मोटरसाइकलमा वाटर प्रुफ सिस्टम, स्मार्ट प्रोटेक्सन सिस्टम, क्रुज कन्ट्रोल, स्मार्ट डिजिटल स्क्रीन, पूरा एलईडी लाइट, चार्जिङ पोर्ट, सीबीएस ब्रेकिङ सिस्टम, अलोय ह्वील, चेन ड्राइभ, फ्रन्ट इन्भर्टेड फोर्क, माउन्ट सक अब्जर्पेसन लगायतका फिचरहरू छन् ।
कम्पनीले मोटरसाइकल किन्ने ग्राहकलाई २ वर्ष वा २० हजार किलोमिटर वारेन्टी पनि दिने जनाएको छ ।


