काठमाडौं । टाटाको प्रिमियम इलेक्ट्रीक सबब्राण्ड ‘अभिन्या’को ड्यासबोर्ड डिजाइनको पेटेन्ट बाहिरिएको छ ।
यही वर्षको अन्त्यसम्म बजारमा आउने तयारीमा रहेको अभिन्याको पहिलो मोडल अभिन्या एक्सको आधिकारिक डेब्यु अगावै ड्यासबोर्डको पेटेन्ट डिजाइनका तस्बिरहरू इन्टरनेटमा लिक भएका हुन् ।
‘पी २’ कोडनेम दिइएको ‘टाटा अभिन्या एक्स’ नयाँ नेमप्लेट अन्तर्गत बजारमा आउने पहिलो प्रोडक्सन रेडी मोडल हुनेछ । अभिन्या एक्समा कन्सेप्ट जस्तै प्रोडक्सन मोडलमा पनि साउण्डबारको माथि ड्यासबोर्डमै जोडिएको स्क्रीन हुन सक्ने सम्भावना छ।
५ सिट कन्फिगरेसनमा आउने यो ईभीको पछाडिको बेन्च जस्तो सिट र अगाडिको बकेट सिट दुवैका लागि पर्याप्त लेगरुम दिइने छ । कन्सेप्ट मोडलमा घुम्ने प्रकृतिको अगाडिको सिट देखाइएको थियो । तर यो विशेषता अन्तिम उत्पादन मोडलमा समावेश हुनेछ वा छैन भन्ने कुरा हेर्न बाँकी नै छ । टाटा मोटर्सले गाडीको इन्टेरियरमा दिगो तथा वातावरणमैत्री सामग्रीहरू प्रयोग गर्ने अपेक्षा गरिएको छ।
टाटाको ‘जेन ३’ आर्किटेक्चरमा आधारित टाटा अभिन्या एक्सले आगामी पुस्ताको एडासलाई सपोर्ट गर्ने सम्भावना छ । यसका अन्य मुख्य फिचरहरूमा ठूलो फ्लोटिङ सेन्ट्रल इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, वायरलेस फोन चार्जर, प्यानोरामिक सनरुफ, लाउन्ज जस्तो ४ सिटर लेआउट, भीटुएल, भीटुभी चार्जिङ क्षमता लगायत हुन सक्छन् ।
उत्पादनका लागि तयार अभिन्या ईभीले कन्सेप्ट मोडलका अधिकांश डिजाइन तत्वहरूलाई कायम राख्ने अपेक्षा गरिएको छ । सन् २०२२ मा प्रदर्शन गरिएको यस एसयूभी कन्सेप्टको अगाडिको भागमा पूर्ण चौडाइको एलईडी लाइट बार, भिन्नै शैलीमा डिजाइन गरिएको ग्रिल, पातलो हेडल्याम्प, बोल्ड शोल्डर क्रिज, ब्लाक आउट ए पिलर, ग्लास रुफ र फ्लोटिङ रियर सेक्सनमा एलईडी टेलल्याम्पहरू रहेका छन्।
टाटा मोटर्सले प्रिमियम अभिन्या रेन्जका लागि स्थानीय रूपमा उत्पादित ब्याट्री प्याकहरू प्रयोग गर्ने अपेक्षा गरिएको छ । यी ब्याट्रीहरूले अल्ट्रा फास्ट चार्जिङ प्रविधिलाई सपोर्ट गर्नेछन् । जसले गर्दा गाडीलाई ३० मिनेटभन्दा कम समयमा चार्ज गरेर कम्तीमा ५०० किलोमिटरको रेन्ज पाउन सकिनेछ।
टाटा अभिन्या टाटा मोटर्स प्यासेन्जर भेहिकल्स र जगुआर ल्याण्ड रोभरको तमिलनाडुको पानपाक्कम रहेको नयँँ प्लाण्टबाट उत्पादन हुनेछ । कम्पनीको यो वार्षिक उत्पादन क्षमता २ लाख ५० हजार युनिट पुर्याउने लक्ष्य राखेको छ ।


