ब्रिटिश ब्राण्ड नोर्टनको मोटरसाइकल भारतमा उत्पादन सुरू

काठमाडौं । ब्रिटिश ब्राण्ड नोर्टनका मोटरसाइकल भारतमै उत्पादन सुरू भएको छ । भारतीय ब्राण्ड टीभीएस मोटर्सले नोर्टनको स्वामित्व खरिद गरेसँगै नोर्टनको मिडलवेट एड्भेन्चर मोटरसाइकल एटलसको उत्पादन थालेको हो ।

टीभीएसको तामिलनाडुस्थित होसुर प्लाण्टबाट नोर्टनको पहिलो मोडल उत्पादन थालेको हो । नोर्टन एटलस नयाँ एड्भेन्चर मोटरसाइकललाई कम्पनीले जुलाई महिनामा विश्वव्यापी रूपमा सार्वजनिक गर्ने तयारी थालेको छ । भारतमा भने एटलस २०२६ अन्तिमतिर मात्रै लन्च हुने बताइएको छ ।

नयाँ एटलसको डिजाइन तथा विकास नोर्टनको बेलायतस्थित सोलिहल मुख्यालयमा गरिएको हो । उत्पादन भने भारतको होसुर कारखानाबाट सुरू गरिएको छ । टीभीएसको स्वामित्वपछि नोर्टनले मिडलवेट एड्भेन्चर टुरिङ सेग्मेन्टमा प्रवेश गर्न एटलसलाई प्रमुख मोडलका रूपमा अघि सारेको हो ।

नोर्टनको नयाँ एड्भेन्चर एटलस र एटलस जीटी गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । इटालीको मिलानमा सम्पन्न इक्मा अटोशो २०२५ मा पहिलो पटक देखिएको एटलस मोडल डबल पर्पस एड्भेन्चर डिजाइनमा रहेको छ । मोटरसाइकलको डिजाइन र लुक्स पनि एकदमै एग्रेसिभ छ ।

यसमा ५८५ सीसीको प्यारालल ट्वीन, लिक्वीड कुल्ड, डीओएचसी इन्जिन छ, जसमा २७० डिग्री क्याकसफ्टको प्रयोग गरिएको छ । यसमा दिइएको इन्जिन टीभीएस बीएमडब्लूको ४२० सीसी इन्जिन आर्किटेक्चरमा आधारित छ । जसले ६९ बीएचपी पावर तथा ५७.५ एनएम टर्क जेनेरेट गर्छ । तर कम्पनीले यसको बोर र स्ट्रोकलाई हाई पावर, पर्फमेन्स र टर्क दिने हिसाबले तयार पारेको हो ।

मोटरसाइकलमा कनेक्टिभिटी सिस्टम सहितको टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल रहेको छ । जसले वाइफाइ, टर्न बाइ नेभिगेसन, राइड टेलिमेट्री, गोप्रो कन्ट्रोल, मल्टिमिडिया कन्ट्रोल, ओटीए सफ्टवेर अपडेट र नोर्टन राइडर एप सपोर्ट गर्छ ।

साथै, मोटरसाइकलमा ट्रयाक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, ह्वील कन्ट्रोल, स्लाइड कन्ट्रोल, पूरा एलईडी लाइट सेटअप, एबीएस सिस्टम, मल्टिपल राइड मोडहरू, राइड बाइ वायर थ्रोटल, मल्टि पइन्ट फ्युल इन्जेक्सन सिस्टम, कीलेस इग्निसन, चार्जिङ पोर्ट, फ्रन्टमा डबल डिस्कसँगै रियरमा सिंगल डिस्कब्रेक र ट्राभलिङ सस्पेन्सन सेटअप जस्ता अत्याधिक एड्भान्स फिचरहरू छन् ।

एटलस भेरियन्टलाई कम्पनीले मिक्स सरफेस राइडिङका लागि डिजाइन गरेको छ । यसको फ्रन्टमा १९ र रियरमा १७ इन्चको स्पोक ह्वील छ । एटलस जीटी भेरियन्टमा भने अगाडि र पछाडि नै १७ इन्चको अलोय ह्वील रहेको छ । यसलाई कम्पनीले निकै अफरोड र लामो टुरिङ पर्पस डिजाइनमा तयार गरेको छ ।


Back_to_top