नाडाको स्वर्ण उत्सवमा वाकाथन सम्पन्न

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको स्वर्ण उत्सव भव्यतापूर्वक सम्पन्न भएको छ । नाडाले शनिबार नेपाल उद्योग वाण्ज्यि महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा स्वर्ण उत्सव मनाएको हो ।

२०३२ सालमा स्वर्गिय तोलाराम दुगडले काठमाडौं जिल्लामा स्थापना गरेको नाडाले आफ्नोे ५०औं वर्षकोे शुभ अवसरमा विभिन्न कार्यक्रमहरू समेत आयोजना गरेको छ ।

नाडाले आफ्नो ऐतिहासिक स्वर्ण उत्सवलाई सम्झनायोग्य बनाउन दशरथ रंगशाला त्रिपुरेश्वरदेखि होटेल याक एण्ड यति दरबारमार्गसम्म वाकाथन कार्यक्रम समेतको आयोजना गरेको थियो । वाकाथनमा विभिन्न विशिष्ट व्यक्तित्वहरू, नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, नाडाका पूर्व अध्यक्षहरू, नाडाका सम्पूर्ण सदस्य कम्पनीहरू र पत्रकारहरूको सहभागितामा थियो ।

स्वर्ण उत्सवको अवसरमा नाडाले आफ्ना पूर्व अध्यक्षहरूलाई विशेष सम्मान समेत गरेको छ। यो स्वर्ण उत्सव समारोह अन्तर्गत असार १३ देखि १९ गतेसम्म सप्ताहव्यापी रूपमा सातै प्रदेशमा विभिन्न कार्यक्रमहरू आयोजना गर्नेछ ।

५० वर्षको अवधिमा नाडाले २३ वटा अधिवेशनहरू सम्पन्न गरिसकेको छ । अहिलेसम्म २१ जना अध्यक्षहरूले नाडाको सफल नेतृत्व समेत गरिसकेका छन्। त्यसैगरी यस अवधिमा नाडाको वार्षिक प्रकाशनको रूपमा ३६औं संस्करणको नाडा अटोमोबाइल ट्रेड डाइरेक्ट्री र ५१औं संस्करणको नाडा अटो न्यूज समेत प्रकाशित गरिसकेको छ।

त्यस्तै अहिलेसम्म १८औं संस्करणको नाडा अटो ड्राइभ क्यालेण्डर प्रकाशित गरेको छ । आगामी भदौमा महिनामा १८औं संस्करणको नाडा अटो शो समेतको आयोजना गर्दैछ ।

त्यसैगरी नाडा नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध बस्तुगत संघहरू मध्ये सो महासंघबाट उत्कृष्ट वस्तुगत एशोसिएशनको पुरस्कारबाट पटक पटक सम्मानित भइसकेको छ ।

नाडा सन् २०१५ देखि आइएसओ ९००१ः२०१५ क्यूएमएस सर्टिफाइड अर्गनाइजेसनको रूपमा स्थापित रहेको छ । त्यसैगरी, नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापी रूपमा विभिन्न सामाजिक महत्वका कार्यक्रमहरू सम्पन्न गर्दै विभिन्न राष्ट्रिय विपत्तिहरूमा समेत सहयोगी भूमिका निर्वाह गर्दै आएको छ।


Back_to_top