काठमाडौं । एकैपटक कर्णाली राजमार्ग अन्तर्गतका १६ वटा ठेक्का सम्झौता तोडिएको छ । सडक डिभिजन कार्यालय, जुम्लाले कर्णाली राजमार्ग अन्तर्गत ठेक्का लिएर वर्षौंदेखि अलपत्र पारिएका १६ वटा रुग्ण ठेक्का तोडेको हो ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयमा सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएको सम्बन्धी जानकारी गराएको हो ।
सडक डिभिजन कार्यालय, जुम्लाका अनुसार कालिकोट खण्डका १२ वटा, जुम्लाका ३ वटा र मुगु जिल्लामा पर्ने एउटा ठेक्का तोडिएको हो ।
ती आयोजनाहरू आर्थिक वर्ष २०७४/७५ देखि २०८२/८३ सम्म विभिन्न समयमा ठेक्का सम्झौता गरिएको थियो ।
ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न कार्यालय लागिपरेको छ । विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदासमेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ ।
ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटी बापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गरिने छ । साथै, बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने कार्यालयको भनाइ छ ।
यसअघि कर्णाली राजमार्गका ठेक्का निर्माण कार्य अलपत्र पारिएका सडकका १० वटा रुग्ण आयोजनाका ठेक्का तोडिएको थियो ।



