काठमाडौं । टाटा मोटर्सले उत्पादन गरेको पन्च ईभी नेपालमा सर्वाधिक सफल मध्येको एक एसयूभी हो । सिप्रदी ट्रेडिङले सन् २०२४ सेप्टेम्बरमा भएको ‘नाडा अटो शो २०२४’ बाट नेपालमा यसको बिक्री थालेको थियो ।
माइक्रो इलेक्ट्रीक एसयूभी सेग्मेन्टमा उपलब्ध पन्च ईभी भारतमा पनि निकै सफल मोडल मानिन्छ । यसको फेसलिफ्ट मोडल अहिले भारतमा बिक्री भइरहेकोा छ ।
नयाँ फेसलिफ्ट पन्चको बाहिरी डिजाइनमा सामान्य परिवर्तन देखिए पनि कम्पनीले ब्याट्री, ड्राइभिङ सिस्टम, चार्जिङ, मोटर लगायतका फिचरमा ब्यापक अपडेट गरेको छ । भारतमा त मूल्य पनि घटाएर बिक्री सुरू गरिएको हो ।
अपडेटसँगै पन्च ईभीमा ठूलो ब्याट्री, लामो रेन्ज, छिटो चार्जिङ, बढी ऊर्जा दक्षता जस्ता फाइदा उपभोक्ताले पाउने छन् । भारतमा बिक्री सुरू भएदेखि नै यसको विद्युतीय संस्करणमा उपभोक्ताको ठूलो चासो देखिएको छ ।

नेपाल आएको १८ महिनामै १ हजार २३१ युनिट पन्च आयात भएको देखिन्छ । कम्पनीले सन् २०२४ सेप्टेम्बरदेखि २०२६ मार्चसम्मको अवधिमा उक्त संख्यामा पन्च ईभी आयात गरेको हो ।
नेपाली उपभोक्ताहरूको मन जित्न सफल टाटा पन्च ईभी जुलाइ महिनाबाट नेपालमा बिक्री सुरू हुँदैछ । यस्तोमा नयाँ पन्च ईभीमा रहेका फिचरहरू र भएको अपडेटका विषयमा यहाँ चर्चा गरिएको छ ।
ठूलो ब्याट्री, लामो रेन्ज
यसअघि दुई ब्याट्री अप्सनमा उपलब्ध पन्चमा २५ र ३५ किलोवाट आवरको ब्याट्री थियो । अब यी दुवैमा ५÷५ किलोवाट आवरको ब्याट्री साइज बढाएर ३० र ४० किलोवाट आवर बनाइएको छ ।
नयाँ ब्याट्री प्रविधि, छिटो चार्जिङ
टाटा मोटर्सले यसअघि प्रयोग गर्दै आएको गोलाकार लिथियम सेलको सट्टा प्रिज्म्याटिक एलएफपी ब्याट्री सेल प्रयोग गरेको छ । आयताकारका प्रिज्म्याटिक सेलहरू एउटै स्थानमा बढी संख्यामा राख्न सकिने भएकाले ब्याट्री क्षमता बढाउन सहज भएको कम्पनीको भनाइ छ ।
डीसी फास्ट चार्जिङ क्षमता पनि ५० किलोवाटबाट बढेर ६५ किलोवाट बनेको छ । उक्त चार्जरले १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३० मिनेट लाग्ने अनुमान गरिएको छ ।
६-इन-१ ड्राइभ सिस्टम
पन्च ईभीमा अब मोटर, इनभर्टर, रिडक्सन गियर, अनबोर्ड चार्जर, डीसी-डीसी कनभर्टर र पावर डिस्ट्रिब्युसन युनिटलाई एउटै ६-इन-१ ड्राइभ युनिटमा समेटिएको छ ।
त्यही कारण नयाँ प्रणाली अघिल्लोभन्दा २८ प्रतिशत हल्का र ५० प्रतिशत सानो र ऊर्जा दक्षता करिब ६ प्रतिशतले बढेको छ । कम्पनीको दाबी अनुसार हाइ भोल्टेज तार र विद्युतीय कम्पोनेन्टको संख्या ३० देखि ४० प्रतिशतसम्मले घटेको छ ।
ड्राइभिङ अनुभव अझ परिष्कृत
पन्च ईभीमा इको, सिटी र स्पोर्ट गरी तीनवटा ड्राइभ मोड उपलब्ध छन् । इको मोडलाई दैनिक सहरी यात्रामा प्रयोग गर्न सहज हुन्छ । स्पोर्ट मोडमा तुरुन्तै एक्सेलेरेसनको अनुभव लिन सकिन्छ ।
प्याडल सिफ्टरको सहायताले नियन्त्रण गर्न मिल्ने चार तहको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम यसमा छ । यसले ब्रेक लगाउँदा उत्पादन हुने ऊर्जालाई पुनः ब्याट्री रिचार्ज गर्न मद्दत गर्छ ।
आरामदायी सस्पेन्सन र स्थिर ह्याण्डलिङ
सस्पेन्सनमा ठूलो परिवर्तन नगरे पनि ब्याट्रीको तौललाई ध्यानमा राखेर गरिएको ट्युनिङका कारण खराब सडकमा पनि पन्च ईभीले आरामदायी यात्रा दिने कम्पनीको दाबी छ ।
उच्च गतिमा पनि गाडी स्थिर रहने र मोडमा आत्मविश्वासका साथ नियन्त्रण गर्न सकिने भएकाले यसका चालक सन्तुष्ट भेटिन्छन् ।
बाहिरी डिजाइनमा सामान्य परिवर्तन
फेसलिफ्ट मोडलमा नयाँ डिजाइनको अगाडिको बम्पर, एलईडी टेललाइट, नयाँ अलोय ह्वील र केही नयाँ कलर अप्सन थपिएका छन् । समग्र डिजाइनलाई अझ सफा र आधुनिक बनाउने प्रयास गरिएको देखिन्छ।
क्याबिन थप प्रिमियम
भित्री भागमा हल्का ग्रे र सेतो रंगको संयोजन प्रयोग गरिएको छ, जसले क्याबिनलाई थप खुला र प्रिमियम महसुस गराउँछ ।

यसमा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, एयर प्युरिफायर, क्रुज कन्ट्रोल र सनरुफ जस्ता सुविधा उपलब्ध छन् ।
सुरक्षामा बलियो
सुरक्षाका लागि पञ्च ईभीमा ६ एयरब्याग, ईएसपी, एबीएससँग ईबीडी, हिल होल्ड असिस्ट, आइएसओफिक्स चाइल्ड सिट माउन्ट, इलेक्ट्रोनिक पार्किङ ब्रेक र अटो होल्ड जस्ता सुविधा समावेश छन् ।
अघिल्लो मोडलले नै भारत एनक्यापबाट फाइभ स्टार सुरक्षा रेटिङ प्राप्त गरेकाले नयाँ संस्करणले पनि त्यही स्तर कायम राख्ने अपेक्षा गरिएको छ ।
अन्त्यमा, पन्च ईभी आकर्षक मूल्य अफर गरेर बजारमा आयो भने यसले ह्याचब्याक कारको बजारलाई उथलपुथल पार्न सक्छ । सहरी क्षेत्र होस् वा हाइवे दुवैको लागि यो उपयोगी मोडल बन्न सक्छ ।


