काठमाडौं । साउन महिनाको अन्तिममा हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो र भदौ दोस्रो साता हुने नाडा अटो शो २०२६ मार्फत करिब आधा दर्जन नयाँ कार ब्राण्ड नेपाल आउने भएका छन् ।
अहिले नै कुन कुन ब्राण्ड आइपुग्छन् भन्ने सबै टुंगाे लागेको छैन । तर, मोटामोटी बुकिङ भएका स्टललाई आधार मान्दा करिब आधा दर्जन नयाँ ब्राण्ड नेपाल आउन लागेको सहजै अनुमान गर्न सकिन्छ ।
नेपाल आउन लागेका अधिकांश ब्राण्ड चीनबाटै आउने भएका हुन् । जसमा अहिलेसम्म आउने निश्चित भइसकेका ब्राण्डहरू बीएआइसी, आरफक्स, चेरी क्यूक्यू, चांगान निभो लगायत छन् ।
यी ब्राण्डका अलावा जेटोर, लेपास, हंकी जस्ता ब्राण्ड पनि नेपालमा बिक्री थाल्ने योजनामा छन् । अहिलेसम्म कुन कुन व्यवसायिक घरानाले यी ब्राण्ड ल्याउँदैछन् भन्ने एकिन जानकारी भने बाहिर आएको छैन ।

नेपालमा बिक्री थाल्ने एकिन भइसकेको बीएआइसी र आरफक्स ब्राण्डका कार लक्ष्मी इमोबिलिटीले नेपाल ल्याउने छ । लक्ष्मी ग्रुप अन्तर्गत आउने चिनियाँ सरकारी स्वामित्वको बीएआइसी ग्रुपका उत्पादन विद्युतीय र हाइब्रिड हुनेछन् ।
आरफक्स ब्राण्डमा टी वान प्रिमियम ह्याचब्याक कार आउने छ । यो प्योर इलेक्ट्रीक ह्याचब्याक हो ।
त्यसैगरी अफरोड भेहिकलको लागि परिचित बीएआइसीको बीजे ३० ई मोडल नेपाल आउने छ । लाइफ स्टाइल भेहिकल खोज्नेको लागि उपयुक्त हुने बीजे ३० ई स्ट्रङ हाइब्रिड मोडल हो ।
चेरी क्यूक्यू ब्राण्डमा आएको पहिलो मोडल क्यूक्यू थ्रीको आधिकारिक लन्च पनि नाइमा मोबिलिटी एक्स्पोमा हुनेछ । यसलाई अहिले नै चेरीका अन्य ब्राण्ड बिक्री गर्दै आएको एसपीजी अटोमोबाइलले नेपाल ल्याउन लागेको हो । चेरीको क्यूक्यू थ्री ईभी बजारमा राम्रै चर्चा ल्याउन सक्ने मोडलमा पर्ने अनुमान गरिएको छ ।
चांगान निभो ब्राण्ड पनि नेपाल आउने भएको छ । यसअघि नेपाल आएको चांगान ग्रुपकै दीपल ब्राण्डले अलग पहिचान निर्माण गरिसकेको कारण अब निभो ब्राण्ड पनि लन्च हुन लागेको हो । एमएडब्लू वृद्धि अन्तर्गतको कम्पनीले ल्याउने निभो ब्राण्ड दीपलकै शोरुमबाट बिक्री हुनेछ ।
निभो ब्राण्डमा आउने क्यू ०५ एसयूभी प्योर इलेक्ट्रीक हुनेछ । यसलाई कम्पनीले नाडा अटो शो मार्फत बिक्री थाल्नेछ ।
जेटोर, लेपास, हंकी लगायतका ब्राण्ड ल्याउन पनि व्यवसायिक घरानाहरू तीव्र दौडमा छन् । सम्भवतःको अबको एक साता भित्रै यी ब्राण्डको पनि आधिकारीक बिक्रेता टुंगाे लाग्नेछ ।


