काठमाडौं । विश्वकै ठूलो अटोमोबाइल उत्पादक चीनले सवारी साधनको डिजाइन सम्बन्धी कडा नियम प्रस्ताव गरेको छ । चीन सरकारले सवारी साधनको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन र दुर्घटनाको जोखिम कम गर्न सवारी साधनको डिजाइन तथा प्रविधिमा कडा नियन्त्रण गर्ने नयाँ नीति प्रस्ताव गरेको हो ।
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सुरक्षा मन्त्रालय, वातावरण मन्त्रालय र बजार नियमनका लागि राज्य प्रशासनसँगको संयुक्त सहकार्यमा नयाँ सुरक्षा मापदण्डको मस्यौदा सार्वजनिक गरेको हो।
मस्यौदामा गाडीमा लुकेका डोर ह्णयडलमा प्रतिबन्धलाई निरन्तरता दिँदै फोल्डिङ इन्फोटेनमेन्ट स्क्रीन, सिट, भ्वाइस कमाण्ड तथा अन्य स्मार्ट सुविधाको सुरक्षामा कडाइ गर्ने प्रस्ताव गरिएको छ । उक्त मस्यौदामा आगामी नोभेम्बर १० सम्म सर्वसाधारणले आफ्नो सुझाव दिन सक्नेछन् ।
लुकेको डोर ह्याण्डलमा प्रतिबन्ध
चीनले सवारी साधनमा हिडन डोर ह्याण्डल प्रयोगमा प्रतिबन्ध लगाएको छ । चीनको एमआईआईटीले गत फेब्रुअरी २ मा ढोकाको ह्याण्डल सम्बन्धी अनिवार्य राष्ट्रिय सुरक्षा मापदण्ड सार्वजनिक गरेको थियो। उक्त मापदण्डअनुसार गाडीको भित्री र बाहिरी दुवै ढोकामा यान्त्रिक रूपमा संचालन गर्न सकिने ह्याण्डल हुनुपर्नेछ।
त्यस्तै, विद्युत् आपूर्ति बन्द हुँदा वा प्रणालीमा खराबी आउँदा पनि ढोका हातैले खोल्न सकिने व्यवस्था हुनुपर्नेछ । यसले दुर्घटना वा अन्य आपत्कालीन अवस्थामा यात्रु गाडीभित्रै थुनिने जोखिम कम गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, अत्यधिक प्रतिकूल अवस्था र आपत्कालीन परिस्थितिमा समेत ह्याण्डलले काम गर्छ कि गर्दैन भन्ने परीक्षण गर्नुपर्ने मस्यौदामा प्रस्ताव छ । विद्युतीय प्रणालीबाट बिस्तारै बन्द हुने ‘सफ्ट क्लोज’ ढोका भएका गाडीमा हात वा शरीरका अंग च्यापिनबाट जोगाउने प्रणाली अनिवार्य गरिनेछ ।
यो मापदण्ड सन् २०२७ जनवरी १ देखि लागू हुनेछ। यसअघि नै स्वीकृति पाइसकेका गाडीका मोडलले भने सन् २०२९ जनवरीसम्ममा आवश्यक डिजाइन परिवर्तन पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।
फोल्डिङ र फ्लेक्सिबल स्क्रीनमा रोक
सवारी चलाउँदा चालकको ध्यान भड्किन सक्ने जोखिमलाई ध्यानमा राख्दै गाडीभित्र प्रयोग हुने खुम्चिने र लचिलो डिस्प्लेहरूमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ । गाडीमा प्रयोग हुने केन्द्रीय इन्फोटेनमेन्ट स्क्रीन, ठूला डिस्प्ले तथा जटिल हेड अप डिस्प्लेले चालकको सुरक्षामा पार्ने प्रभावको मूल्यांकन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
अस्वाभाविक सिटको प्रयोगमा रोक
गाडी गुडिरहेको समयमा ‘जिरो ग्रयाभिटी’ सिट, घुम्ने सिट तथा सिटलाई ओछ्यानमा परिणत गर्ने सुविधाको प्रयोग रोक्न उत्पादकले प्राविधिक व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

भौतिक बटनहरू अनिवार्य
मस्यौदामा गाडीमा संवेदनशील फिचर प्रयोगका लागि भौतिक बटनहरू अनिवार्य गर्ने प्रस्ताव गरिएको छ । मुख्य वाइपर, हेडलाइट, डिफ्रस्टिङ जस्ता सुरक्षाका दृष्टिले अति संवेदनशील सुविधाहरूका लागि टच स्क्रीन वा भर्चुअल नियन्त्रण मात्र पर्याप्त हुँदैन । त्यसैले त्यस्ता फिचरका लागि टन स्क्रीनसँगै भौतिक बटन पनि अनिवार्य उपलब्ध गराउनुपर्ने छ ।
भ्वाइस कमाण्डमा कडाइ
स्मार्ट सुविधामा आवाज पहिचान गर्ने प्रणालीको गलत व्याख्याले सुरक्षा जोखिम निम्त्याउन सक्ने भएकाले यस्ता प्रणालीको संचालनमा समेत कडाइ गर्न खोजिएको हो।
हालैका केही दुर्घटनाहरूलाई मध्यनजर गर्दै गाडी चलाइरहेको समयमा चालकबाहेक अन्य यात्रुले भ्वाइस कमाण्डबाट ढोका, बोनट वा हेडलाइट नियन्त्रण गर्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
परीक्षण र स्वीकृति प्रक्रिया थप कडा
सन् २०२७ जनवरी १ देखि नवीन डिजाइन भएका नयाँ गाडीको स्वीकृतिका लागि आवेदन दिँदा थप प्राविधिक विवरण तथा सुरक्षा र वातावरणीय प्रभाव प्रमाणित गर्ने कागजात पेस गर्नुपर्नेछ।
एमआईआईटीको स्वीकृत सवारी उत्पादक तथा उत्पादनको सूचीमा पहिले नै समावेश भएका नवीन डिजाइनका गाडीले पनि सन् २०२७ जुलाई १ सम्ममा थप प्राविधिक विवरण र प्रमाणीकरणसम्बन्धी कागजात पेस गर्नुपर्ने प्रस्ताव गरिएको छ।
तोकिएको समयसीमाभित्र आवश्यक विवरण नबुझाएका र सुरक्षा जोखिम निम्त्याउन सक्ने मोडलको उत्पादन तत्काल रोक्नुपर्ने तथा उत्पादकले स्वेच्छिक रूपमा बजारबाट फिर्ता बोलाउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। राष्ट्रिय मापदण्डमा पहिल्यै तोकिएका उत्पादन तथा बिक्रीका सङ्क्रमणकालीन समयसीमा भने यथावत् रहनेछन्। ।
कम्तीमा ३० हजार किमी परीक्षण गर्नुपर्ने
मस्यौदासँगै सार्वजनिक गरिएको प्राविधिक निर्देशिका अनुसार यात्रुवाहक गाडीले विश्वसनीयता परीक्षणका क्रममा कम्तीमा ३० हजार किलोमिटर यात्रा पूरा गर्नुपर्नेछ ।
त्यस्तै, गाडीको वातावरणीय अनुकूलता परीक्षण कम्तीमा १ वर्षसम्म गर्नुपर्ने प्रस्ताव छ । यस क्रममा अत्यधिक चिसो, उच्च तापक्रम र पुनः अत्यधिक चिसोको अवस्था समेट्नुपर्नेछ । यसलाई ‘दुई हिउँद र एक गर्मी’ को परीक्षण चक्रका रूपमा व्याख्या गरिएको छ । गाडीका सबै प्रमुख संरचना तथा संस्करणको परीक्षण गर्न एकभन्दा बढी सवारीसाधन प्रयोग गर्नुपर्नेछ।
त्यस्तै, चालक सहायता प्रणाली, स्वचालित ड्राइभिङ तथा स्मार्ट ककपिट प्रणालीको परीक्षण वास्तविक गाडीमा गर्नुपर्नेछ। यस्तो परीक्षणमा सामान्य प्रयोगका अवस्थासँगै सुरक्षा जोखिम निम्त्याउन सक्ने असामान्य तथा चरम अवस्थासमेत समेट्नुपर्नेछ।
त्यस्तै, उत्पादकले ट्र्याक्सन ब्याट्री, मोटर, विद्युतीय नियन्त्रण प्रणाली तथा स्मार्ट ककपिटजस्ता महत्त्वपूर्ण हार्डवेयर र सफ्टवेयरको गुणस्तर जाँच गर्नुपर्नेछ । आपूर्तिकर्ताले उपलब्ध गराएको परीक्षण प्रतिवेदनलाई मात्र आधार मानेर त्यस्ता उपकरण स्वीकार गर्न नपाइने प्रस्ताव गरिएको छ।

