काठमाडौं । लक्जरी कार ब्राण्ड बीएमडब्लूले आफ्नो लोकप्रिय एसयूभी एक्स फाइभको पाँचौं जेनेरेशन मोडल सार्वजनिक गरेको छ। नयाँ एक्स फाइभलाई कम्पनीले बाहिरी डिजाइन, इन्टेरियर, प्रविधि र पावरट्रेनमा व्यापक परिवर्तन गरेर ल्याएको हो ।
अब बीएमडब्लू एक्स फाइभ पेट्रोल, डिजेल, प्लग-इन हाइब्रिड, पूर्ण विद्युतीय र भविष्यमा हाइड्रोजन फ्युल-सेलमा आधारित भएर आउने कम्पनीले घोषणा गरेको हो ।
कम्पनीका अनुसार पहिलो पटक आएको आईएक्स फाइभ प्योर ईभी मोडल हो । यसले सिंगल चार्जमा ८४५ किलोमिटरसम्म रेन्ज दिने डब्लूएलटीपी टेस्टले देखाएको छ । केहीपछि आउने हाइड्रोजन संस्करणमा ६१२ हर्सपावरको पावरट्रेन रहनेछ ।
पाँचौ जेनेरेशन बीएमडब्लू एक्स फाइभलाई कम्पनीले आफ्नो न्यू क्लास डिजाइन ल्याङग्वेजमा तयार पारेको छ । अगाडिको भाग पहिलेभन्दा बढी उचाइ भएको देखिन्छ । नयाँ इलुमुनेटेड किड्नी ग्रिलसँगै ‘डबल-एक्स’ आकारको एलईडी डे-टाइम रनिङ लाइट प्रयोग भएको छ ।
डे-टाइम रनिङ लाइट, इन्डिकेटर र लो-बिम हेडलाइट एउटै युनिटमा राखिएको छ । एडाप्टिभ एलईडी हेडलाइट, म्याट्रिक्स हाई-बिम, कर्नरिङ लाइट र सेलेक्टीभ बीम प्रविधि स्ट्यान्डर्ड रूपमा सबै भेरियन्टमा उपलब्ध हुनेछ।

साइड प्रोफाइलमा फ्लस-फिटिङ विन्डो, बी र सी पिलरमा जडान गरिएका विद्युतीय डोर ह्यान्डल, आकर्षक ह्विल आर्च र नयाँ शोल्डर लाइन दिइएको छ।
पछाडिको भागमा नयाँ डिजाइनका स्लिम एलईडी टेललाइट, पुनः डिजाइन गरिएको बम्परले एक्स फाइभलाई पहिलाको भन्दा फरक देखाएको छ ।
नयाँ एक्स फाइभको लम्बाइ ४,९९४ एमएम, चौडाइ २,००० एमएम र ह्वीलबेस ३,०३५ एमएम लामो छ । यसमा बुट स्पेश भने ६५५ लिटर क्षमताको छ । सिट फोल्ड गर्दा १,८५० लिटरसम्म बढाउन सकिन्छ ।
बाहिर जस्तै क्याविन पनि पूर्ण रूपमा नयाँ बनाइएको छ। ड्यासबोर्डलाई मिनिमलिस्ट डिजाइनमा तयार पारिएको छ । भौतिक बटनको संख्या उल्लेखनीय रूपमा घटाइएको छ। बीएमडब्लूको पानारोमिक आइड्राइभ डिस्प्ले, १७.९ इन्चको बिशाल टच स्क्रीन, थ्रीडी हेडअप डिस्प्ले र नयाँ डिजाइनको स्टेयरिङ ह्वील दिइएको छ ।

इन्टेरियरमा स्लेट र ग्लास फिनिस, एम्बियन्ट लाइटिङ, प्यानोरामिक ग्लास रूफ, स्पोर्ट्स सिट, मसाज सुविधा भएका भेन्टिलेटेड फ्रन्ट सिट, सफ्ट-क्लोज डोर, वायरलेस चार्जिङ, ओभर-द-एयर सफ्टवेयर अपडेट, डल्बी अटोमस साउन्ड सिस्टम उपलब्ध हुनेछ ।
एसयूभीमा लेभल-२ ड्राइभर असिस्टेन्स सिस्टम समावेश गरिएको छ। यसअन्तर्गत एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट, हाईवे तथा अर्बन ड्राइभिङ असिस्ट, पार्किङ असिस्ट र अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सुविधा उपलब्ध हुनेछ।
यसका अतिरिक्त मल्टिपल एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल पनि स्ट्यान्डर्ड रूपमा दिइएको छ।
पूर्ण विद्युतीय आइएक्स फाइभमा १४१ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । ८०० भोल्ट विद्युतीय आर्किटेक्चरमा बनेको एसयूभीमा डुअल मोटर दिइएको छ । यसमा ५७८ हर्सपावर र ८०५ एनएम टर्क प्रदान गर्ने मोटर जडान हुनेछ ।
यसले ४६० किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । जसले १० देखि ८० प्रतिशत चार्ज गर्न केवल २३ मिनेट लाग्नेछ ।


