चितवन । आर्थिक नगरको रूपमा विकास हुँदै गएको चितवनमा अटोमोबाइल क्षेत्रको ठूलो सम्भावना रहेको स्थानीय व्यवसायीहरूको भनाइ छ ।
चितवनमा अटोमोबाइल व्यवसायमा सक्रिय व्यवसायी गोपाल भट्टराई अहिले नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका अध्यक्ष समेत छन् । उनले चितवनको अटो व्यवसायमा थुप्रै चुनौती रहेको बताए ।
भट्टराई भन्छन्, ‘चितवन भारतसँगको खुला सीमासँग जोडिएकाले चोरीको बाटोबाट भित्रिने स्पेयर पाट्र्सका कारण वैध स्पेयर पार्टस् र सर्भिस व्यवसाय गम्भीर मारमा परेको छ । यसलाई नियन्त्रण गर्न प्रभावकारी अनुगमन आवश्यक छ ।’
अटो सर्भिस क्षेत्रमा दक्ष जनशक्ति अभाव बढ्दो चुनौती बनेको उनको भनाइ छ । युवालाई मेकानिक्स पेशातर्फ आकर्षित गर्न तालिम, प्रोत्साहन र स्पष्ट करियरको वातावरण बनाउनुपर्ने बताउँदै उनि भन्छन्, ‘हात कालो हुने काम गर्न युवाहरु चाहँदैनन्, यहाँ सम्भावना छ भन्ने बुझाउनु पर्छ । नत्र भारतीय कामदारको भरमा यो पेसा चलाउनु पर्ने अवस्था आउँछ ।’
आयातकर्ताले डिलरलाई केवल बिक्रीका लागि मात्र होइन, तालिम, प्राविधिक सहयोग र व्यवसायिक संरक्षणमा पनि साथ दिनुपर्ने उनको भानाई छ । त्यसका लागि सरकारले डिलर सम्बन्धी स्पष्ट नीति ल्याउनु पर्छ ।
विद्युतीय सवारीको संख्या बढ्दै जाँदा स्थानीय ग्यारेजलाई ईभी मर्मतसम्बन्धी तालिम र प्रविधिमा सक्षम बनाउनु अपरिहार्य भएको छ । साथै, चितवनलाई व्यवस्थित अटो हबका रूपमा विकास गर्न सके सर्भिस पूर्वाधार विस्तार, रोजगारी सिर्जना र सर्वसुलभ सेवा प्रवाहमा ठूलो योगदान पुग्ने भट्टराइले बताए ।
यदि, सरकारले अटो हब बनाउने विषयलाई प्राथमितामा राख्ने हो भने लगानी निजी क्षेत्रले गर्नेछ । भट्टराइसँगै अटोमोबाइल क्षेत्रसँ सम्बन्धित रहेर गरिएको पूरा कुराबानी माथिको भिडियोमा हेर्नुहोस् ।


