काठमाडौं । फ्रेन्च अटोमोबाइल उत्पादक रेनोले आफ्नो चर्चित ह्याचब्याक क्वीडको फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ ।
रेनो इन्डियाले शुक्रबारदेखि भारतीय बजारमा फेसलिफ्ट क्वीड बिक्री सुरू गरेको हो । कम्पनीले फेसलिफ्ट क्वीडको सुरुआती मूल्य ४ लाख ५२ हजार भारु (एक्सशोरुम) तोकेको छ । टप भेरियन्टको मूल्य ५ लाख ६० हजार भारु छ ।
रेनोले यसअघिको झन्झटिलो लाइनअपलाई प्रतिस्थापन गर्दै नयाँ क्वीड इभोलुसन र क्लाइम्बर गरी दुई भेरियन्टमा मात्र ल्याएको छ ।
रेनोले फेसलिफ्ट क्वीडलाई नवीनतम ब्राण्ड पहिचानसहित बजारमा ल्याएको हो । नयाँ क्वीडमा रेनोको ‘एसयूभी’बाट प्रेरित रूपलाई कायम राख्दै कम्पनीको नयाँ लोगो दिइएको छ । यसमा नयाँ थ्रीडी रेनो ब्याजहरू छन् । टेलगेटमा फरक फन्टको क्वीड अक्षर देख्न सक्छन् । यसले नयाँ सिल्भर कलर फिनिश पाएको छ । साथै, १४ इन्चको स्टील ह्वीलका लागि रिडिजाइन गरिएको डुअल टोन प्लास्टिक कभरहरू छन् ।

अन्य एलिमेन्ट भने पुरानो क्वीडमा भएका जस्तै छन् । यसमा आँखीभौं आकारको एलईडी डेटाइम रनिङ ल्याम्प, हेलोजन हेडलाइट, बम्पर र हेलोजन टेललाइट छन् ।
नयाँ रेनोमा पुरानै पावर ट्रेनलाई निरन्तरता दिइएको छ । यसमा १.० लिटर, थ्री सिलिण्डर नेचुरल एस्पिरेटेड पेट्रोल इन्जिन छ । जसले अधिकतम ६९ हर्षपावर र ९१ एनएम पिक टर्क प्रदान गर्छ । यो इन्जिसँग फाइभ स्पीड म्यानुअल र फाइभ स्पीड अटोमेटिक ट्रान्समिसन अप्सन उपलब्ध छ । अटोमेटिक भेरियन्टहरूमा रेनोको रोटरी गियर सेलेक्टर (रोटरी नोब) पनि रहेको छ।
नयाँ रेनोको क्याबिन निकै आकर्षक देखिन्छ । यसमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीलाई सपोर्ट गर्ने ८ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, गाइडलाइन सहितको रियर भ्यू क्यामेरा, रिमोट कीलेस इन्ट्री, सेन्ट्रल लकिङ, पावर स्टेयरिङ, पावर विन्डोज, यूएसबी र ब्लुटूथ कनेक्टिभिटी फिचर छन् ।
रेनोले क्वीडको व्यवहारिकतालाई पनि कायमै राखेको छ । यसमा १८४ एमएमको ग्राउण्ड क्लियरेन्स छ । सामान राख्नका लागि २७९ लिटरको बुट स्पेस दिएको छ । जुन इन्ट्री लेभल ह्याचब्याकमा उत्कृष्ट हो ।
यसको क्लाइम्बर भेरियन्ट अझ विशिष्ट बाहिरी डिजाइन, डुअल टोन इन्टेरियर, ह्वील आर्क क्ल्याडिङ, स्ट्याण्डर्ड मोडलको तुलनामा थप आकर्षक र अलि मस्कुलर कस्मेटिक परिमार्जनका साथ आफूलाई फरक रूपमा प्रस्तुत गरेको छ।

२०२६ रेनो क्वीडमा सुरक्षाका लागि डुअल फ्रन्ट एयरब्याग, ईबीडी सहितको एबीएस, सिट बेल्ट रिमाइण्डर लगायत कुल १७ वटा स्ट्याण्डर्ड सेफ्टि फिचर छन् ।
क्वीड भारतमा निकै सफल ह्याचब्याक हो । सन् २०१५ देखि बिक्री सुरु भएको यो कार हालसम्म साढे ४ लाख युनिटभन्दा धेरै बिकिसकेको छ । नेपालमा पनि क्वीड उपलब्ध छ ।


