अहिलेसम्मकै सबैभन्दा महँगोमा बिक्री भएको कार

काठमाडौं । अहिलेसम्मकै सबैभन्दा महँगोमा बिक्री भएको कार भन्ने बित्तिकै तपाईंलाई कुन ब्राण्डको नाम याद आउँछ । के यो कार बिक्री भएको समय तपाईंलाई याद छ ? छैन भने यसको विषयमा हामीले आज एक रिपोर्ट तयार पारेका छौं ।

विश्वकै सबैभन्दा महँगोमा बिक्री भएको कार ‘मर्सिडिज बेन्ज ३०० एसएलआर उहलेनहाउट’ हो । यो एक कुपे डिजाइनमा बनेको रेसिङ कार हो ।

यो कारको डिजाइनकर्ता थिए रुडोल्फ उहलेनहाउट । उनकै नामको पछाडिको थर राखेर कारको नाम मर्सिडिज बेन्ज ३०० एसएलआर उहलेनहाउट राखिएको हो । यो कार सन् १९५५ मा उत्पादन भएको थियो । यसको बिक्री भने सन् २०२२ मे ५ तारिखमा जर्मनीको स्टुटगार्ट स्थित मर्सिडिज बेन्ज संग्रालयमा भएको थियो ।

गोप्य लिलामीमा बिक्री भएको कारलाई १४२.८ मिलियन अमेरिकी डलर (२१ अर्ब ७० कराेड रुपैयाँ) खर्च गरेर एक व्यक्तिले खरिद गरेका हुन् । यी खरिदकर्ता को थिए भन्ने विषय अहिलेसम्म बाहिर लयाइएको छैन ।

किन भयो यति धेरै महँगो ?

यो कार किन्ने मानिसले चढ्नकै लागि यति ठूलो धनराशी खर्च गरेका होइनन् । यसको दुर्लभता, इतिहास र संग्रहणीय महत्वको कारण खरिदकर्ताले मूल्य तिरेका हुन् ।

मर्सिडिज बेन्ज ३०० एसएलआर उहलेनहाउट विश्वमा केबल दुई युनिट मात्रै उत्पादन भएको मोडल हो । एउटा युनिट अहिले पनि मर्सिडिज बेन्जको संग्राहलयमै राखिएको छ । यसलाई धेरै अटो विज्ञहरूले ‘चार पाङ्ग्रामा बनेको कलाकृति’ भनेर व्याख्या गर्ने गर्छन् ।

कस्तो थियो इन्जिन ?

सन् १९५५ बनेको मर्सिडिज बेन्ज ३०० एसएलआर उहलेनहाउटमा उन्नत प्रविधि युक्त इन्जिन थियो । भर्खरै मोटरसाइकलहरूमा प्रयोग भएपछि चर्चामा आएको एफआई टेक्नोलोजी भएको ३.० लिटर इन्जिन यसमा दिइएको थियो ।

क्षमताको हिसाबले २९८२ सीसीको स्ट्रेट-८ पेट्रोल इन्जिनको पावर ३१० एचपी थियो । पाँच स्पीडको म्यानुअल गियरबक्स भएको कार प्रतिघण्टा २९० किलोमिटरको स्पीडमा दौडन सक्थ्यो ।


Back_to_top