ओपेक प्लसले दैनिक तेल उत्पादन बढाउने

काठमाडौं । तेल उत्पादक देशहरूको समूह ओपेक प्लसले तेल उत्पादन बढाउने घोषणा गरेका छन् ।

विश्व बजारको अवस्था र भावी परिदृश्यको समीक्षा गर्न आइतबार बसेको ओपेक प्लस देशहरूको बैठकले अगस्ट महिनादेखि दैनिक १ लाख ८८ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय गरेका हुन् ।

इरान युद्ध रोकिएसँगै विश्व ऊर्जा बजारमा सुधारका संकेतहरू देखिएपछि ओपेक प्लस देशहरूले कच्चा तेलको उत्पादन बढाउने निर्णय गरेका हुन् ।

नयाँ निर्णय अनुसार अब अगष्ट १ देखि रुस, साउदी अरब, इराक, कुवेत, कजाकिस्तान, अल्जेरिया र ओमानले दैनिक १ लाख ८८ हजार ब्यारेल तेल उत्पादन बढाउने छन् । यसले बजारमा तेलको आपूर्ति थप बढाउने र मूल्य केही सस्तिने अपेक्षा गरिएको छ ।

ओपेक प्लस देशले यो निर्णयलाई सन् २०२३ मा गरिएको उत्पादन कटौतीलाई क्रमशः खारेज गर्ने योजनाकै निरन्तरता रहेको बताएका छन् । ‘सदस्य राष्ट्रहरूले बजारको अवस्थालाई नजिकबाट नियाल्ने र मूल्याङ्कन गर्ने कार्य जारी राख्नेछन्,’ ओपेक प्लसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ओपेक प्लस देशले आगामी अगस्ट २ मा अर्को बैठक बसी थप निर्णय गर्ने बताइएको छ ।


Back_to_top