काठमाडौं । टाटा मोटर्सले हालै बजारमा ल्याएको इलेक्ट्रीक एसयूभी ‘सिएरा ईभी’को एउटा प्राविधिक फिचरले अटोबजारमा चर्चासँगै जिज्ञासा उब्जाएको छ ।
सामान्यतया ठूलो ब्याट्री भएको ईभी बढी शक्तिशाली (पावर दिने) हुन्छन् भन्ने मान्यता राखिन्छ । तर, सिएरा ईभीको हकमा यो मान्यता उल्टिएको छ । सिएरा ईभीको सानो ६३ किलोवाट आवर ब्याट्री रियर ह्वील ड्राइभ भेरियन्टले ठूलो ७५ किलोवाट आवर ब्याट्री भेरियन्टभन्दा बढी पावर प्रदान गरेको छ ।
टाटाको आधिकारिक प्राविधिक विवरण अनुसार ६३ किलोवाट आवर ब्याट्रीप्याक भएको सिएरा ईभीले २३८ पीएस पावर दिन्छ । जबकि ठूलो ७५ किलोवाटको ब्याट्री भएको सिएरा ईभीले २०९ पीएस पावर मात्र प्रदान गर्छ । यहाँ सिएरा ईभीको माथिल्लो भेरियन्ट (१ लाख भारु महँगो)ले तल्लो भेरियन्टकोभन्दा २९ पीएस कम शक्ति दिन्छ । ठूलो ब्याट्रीभन्दा सानो ब्याट्री भएको सिएराको पावर १२.२ प्रतिशत कम छ ।
यसले सबैमा जिज्ञासा उब्जाएको छ, आखिर किन ठूलो ब्याट्री भएको भेरियन्टले सानो ब्याट्री भएको भेरियन्टभन्दा कम पावर उत्पादन गर्छ त ? उत्पादक टाटाले भने यो कुनै गल्ती नभई जानाजानी गरिएको इन्जिनियरिङ रहेका बताएको छ ।
टाटाका कारण तीन मुख्य कारण सानो ब्याट्री भएको सिएरा शक्तिशाली भएको हो । पहिलो, ब्याट्रीको आकार एउटै हुनु । टाटाका अनुसार ६५ र ७५ दुवै किलोवाट आवरका ब्याट्रीहरूलाई एउटै क्युबिक आकार (प्याकेजिङ भोल्युम)मा अटाउने गरी बनाइएको छ । तर, ७५ किलोवाट आवर ब्याट्रको रेन्ज धेरै बनाउन उच्च ऊर्जा घनत्व भएका सेल छनोट गरी सीटुपी (सेल टु प्याक) आर्किटेक्चर प्रविधि अपनाइएको छ । यही कारण ठूलो ब्याट्रीले आफ्नो श्रेणीमै उत्कृष्ट १४१ वाट आवर प्रतिकेजीको प्याकेजिङ दक्षता र ८.९ किलोमिटर प्रतिकिलोवाट आवरको ऊर्जा दक्षता प्रदान गर्छ । जसले एआरएआई प्रमाणित ६६५ किलोमिटरको रेन्ज दिन्छ ।
दोस्रो, भोल्टेज घट्नु । एउटै भौतिक आकारभित्र उच्च क्षमताको ब्याट्री फिट गर्नका लागि ब्याट्रीको भित्री संरचना (आर्किटेक्चर) मा परिवर्तन गर्नुपर्या्े । यसो गर्दा ब्याट्रीको ‘अपरेटिङ भोल्टेज’मा सामान्य गिरावट आयो । जसले गर्दा यसको उच्चतम पिक पावर केही कम हुन पुग्यो ।
तेस्रो, रेन्ज बढाउनु । टाटाले सिएरा ईभीको ठूलो ब्याट्रीको रेन्ज धेरै बढाउन ब्याट्री प्याकिङमा नयाँ प्रविधि प्रयोग गर्यो । जसले गाडीको पावर थोरै घटाए पनि रेन्ज सानोकोभन्दा ९९ किलोमिटर धेरै बढाएको छ । ७५ किलोवाट आवरको ब्याट्री भएको सिएराले एकपटकको फुलचार्जमा ६६५ किलोमिटरसम्मको उत्कृष्ट एआरएआई प्रमाणित रेन्ज प्रदान गर्दछ । जबकि सानो ब्याट्रीले ५६५ किमी रेन्ज दिन्छ ।
कम्पनीका अनुसार दुई ब्याट्री बीचको पावर २९ पीएस फरक भए पनि यसले दैनिक गाडी हाँक्ने कार्यमा खासै असर नगर्ने टाटाको दाबी छ । किनभने दुवै रियर ह्वील ड्राइभ भेरियन्टले स्पोर्टस् मोडमा समान ३१५ न्यूटन मिटरको उच्चतम टर्क उत्पादन गर्छन् । त्यसैले सहर वा राजमार्गमा गाडी उठाउँदा वा ओभरटेक गर्दा चालकले उस्तै प्रतिक्रिया पाउनेछन्। यद्यपि,, यो पावरको भिन्नता लगातार तीव्र गतिमा वा जोशिलो तरिकाले गाडी कुदाउँदा मात्र महसुस हुन सक्छ ।
टाटाले फरक दुई ब्याट्री भएका सिएरा ईभीको प्राथमिकता पनि फरक रहेको स्पष्ट पारेको छ । कम्पनीका अनुसार ७५ किलोवाट आवर भेरियन्ट धेरैभन्दा धेरै रेन्ज चाहिने ग्राहलाई लक्षित गरिएको छ । अर्कोतर्फ, ६३ किलोवाट आवर भने बढी प्रफर्मेन्स केन्द्रित भएर बनाइएको हो ।
यद्यपि, टाटाले अझै केही प्रश्नहरू जवाफ स्पष्ट दिएको छैन । यदि कम पावर राखेर रेन्ज बढाउनु नै सही इन्जिनियरिङ निर्णय थियो भने सानो ६३ किलोवाट आवर ब्याट्रीमा पनि त्यही प्रविधि अपनाएर त्यसको रेन्ज किन अझै बढाइएन ? त्यस्तै, कम्पनीले दुवै गाडीको रफ्तार समात्ने समय ( शून्यदेखि १०० किमी प्रतिघण्टाको स्पीड) आधिकारिक तथ्यांक पनि अहिलेसम्म सार्वजनिक गरेको छैन ।


