काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीलाई दिइने कर्जा सम्बन्धी नियमाकीय व्यवस्था संशोधन गर्ने भएको छ ।
राष्ट्र बैंकले हायर पर्चेज कर्जा सम्बन्धी हाल कार्यन्वयनमा रहेका व्यवस्थालाई थप प्रभावकारी र समायानुकूल बनाउन संशोधन गर्न लागेको हो ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा घोषणा गरिए अनुसार हायर पर्चेज कर्जा सम्बन्धी नीति संशोधनका लागि हाल अध्ययन भइरहेको जनाएको हो ।
राष्ट्र बैंकले मंगलबार चालु आवको मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
राष्ट्र बैंकका अनुसार हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रकृयागत व्यवस्थामा फिट एण्ड प्रोपर टेस्ट, कर्जाको ब्याजदर गणना, सेवा शुल्क लगायत व्यवस्था संशोधन गर्न आवश्यक छ ।
ती नियामकीय व्यवस्थामा के-कस्ता संशोधन गर्ने भनेर हाल अध्ययन भइरहेको राष्ट्र बैंकले जनाएको छ । अध्ययन प्रतिवेदन अनुसार आवश्यक संशोधन गरी नयाँ व्यवस्था गरिने राष्ट्र बैंकको भनाइ छ ।


