काठमाडौं । चिनियाँ अटो निर्माता ग्रेटवाल मोटर्सले आफ्नो लोकप्रिय अफरोड एसयूभी ट्याङ्क ३०० अफरोड एसयूभी को परिमार्जित संस्करण ट्यांक ३०० एलको प्रि-सेल सुरु गरेको छ । कम्पनीले जुलाई ६ देखि चीनमा यसको बुकिङ खुला गरेको हो । औपचारिक बिक्री भने जुलाई १९ देखि सुरु हुनेछ ।
ग्रेटवाल मोटर्सका अनुसार नयाँ ट्याङ्क ३०० एलमा ५५३ वटा परिमार्जन गरिएको छ । ती मध्ये आधाभन्दा बढी कम्पोनेन्टलाई पूर्ण रूपमा पुनः विकास गरिएको कम्पनीको दाबी छ ।
यसको क्याबिनमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १५.६ इन्चको २.५के फ्लोटिङ टचस्क्रिन दिइएको छ । यसमा ग्रेटवाल मोटर्सको कफी ओएस ३ एआई अपरेटिङ सिस्टम पाउन सकिन्छ ।
अफरोड यात्रालाई सहज बनाउन गाडीमा ४ हजारभन्दा बढी अफरोड रुट गाइड, बिल्ट(इन रेडियो, अक्सिजन कन्सेन्ट्रेटर तथा स्याटेलाइट कम्युनिकेसन जस्ता सुविधा दिइएको छ ।
ड्राइभर सिटमा १२ वे तथा अगाडिको सहयात्री सिटमा १० वे इलेक्ट्रिक एड्जस्टमेन्ट पाउन सकिन्छ । दुवै अगाडिका सिटमा हिटिङ, भेन्टिलेसन, मेमोरी र ८ प्वाइन्ट मसाज छ । पछाडिको सिटको ब्याकरेस्ट २५ डिग्रीदेखि ३३.७ डिग्रीसम्म ढल्काउन मिल्ने बनाइएको छ ।
यसको बाहिरी डिजाइनमा पनि परिमार्जन छ । अगाडिको भागमा नयाँ ब्ल्याक आउट ग्रिल प्रयोग गरिएको छ । ग्रिलमा ठूलो अक्षरमा ‘TANK’ लेखिएको छ । गोलाकार एलईडी हेडल्याम्प पनि नयाँ डिजाइनमा तयार पारिएको छ ।

यसलाई अफरोड र व्यक्तिगत आवश्यकता अनुसार परिमार्जन गर्न मिल्ने गरी डिजाइन गरिएको छ । गाडीमा ४० वटा एक्सपान्सन इन्टरफेस उपलब्ध छन् ।
नयाँ प्लेटफर्म अनुसार यसको संरचनामा पनि परिवर्तन गरिएको छ। यसको लम्बाइ ४८८६ एमएम, चौडाइ १९८४ एमएम र उचाइ १९२७ एमएम छ । यसको अप्रोच एङ्गल ३८ डिग्री, डिपार्चर एङ्गल ३३ डिग्री, ब्रेकओभर एङ्गल १९ डिग्री छ । ग्राउन्ड क्लियरेन्स २३५ एमएम अग्लो छ भने ८०० एमएम गहिराइसम्म पानी पार गर्न सक्ने क्षमता प्रदान गरिएको छ ।

सुरक्षाको लागि ट्याङ्क ३०० एलमा २७ वटा सेन्सर जडान गरिएको छ । जसमा एउटा लाइडार समेत समावेश छ । ट्यांक ३०० एलमा २.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन प्रयोग गरिएको छ ।
कम्पनीका अनुसार नयाँ Hi4-Z पावरट्रेनले अझ उच्च कार्यक्षमता, उत्कृष्ट अफरोड क्षमता र कम इन्धन खपत सुनिश्चित गर्ने दाबी गरेको छ । यसको हाइब्रिड डिटेल अहिलेसम्म बाहिर ल्याएको छैन ।
ग्रेटवाल मोटर्सको नेपालको लागि आधिकारीक बिक्रेता भीजी इम्पेक्सले सन् २०२६ को अन्तिमसम्ममा नयाँ ट्याङ्क ३०० एसयूभी नेपाल ल्याएर बिक्री गर्ने घोषणा यसअघि नै गरिसकेको छ ।


