काठमाडौं । दक्षिण कोरियाली कार निर्माता हुन्डाईको चर्चित इलेक्ट्रीक एसयूभी आयोनिक-९ नेपाल आएको छ । हुन्डाई लाइनअप कै सबैभन्दा ठूलो र महँगो एसयूभी नेपाल आएको हो ।
नेपालको लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोनिक-९ नेपाल ल्याएको हो । लक्जरी एसयूभी सेग्मेन्टमा उपलब्ध आयोनिक-९को मूल्य भने तय नभएको कम्पनीको भनाइ छ ।
आयोनिक सिरिजकै सबैभन्दा ठूलो एसयूभी अमेरिका र युरोपमा निकै चर्चित मानिन्छ । सात सिट क्षमताको एसयूभी लामो ड्राइभिङ रेन्ज, अत्याधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा फिचर तथा तीव्र चार्जिङ क्षमताका कारण सफलता पाइरहेको मोडल हो ।
नेपाल सरकारले यसअघिको कर निर्धारण प्रक्रिया संशोधन गरेर मूल्यको आधारमा कर निर्धारण गरेकाले यसअघि योजना गरेर मगाइएको भन्दा बढी मूल्य पर्ने अवस्था आएको आधिकारिक बिक्रेताको भनाइ छ । निकै ठूलो सम्भावना भएको आयोनिक-९ बिक्री सुरू नहुँदै मूल्यको कारण अफ्ठ्यारोमा पर्ने जस्तो देखिन्छ ।

विश्व बजारमा टेस्ला, किया, रिभियन तथा अन्य स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गरिरहेको आयोनिक-९ ले मूल्य र प्रविधि बीचको सन्तुलनका कारण सकारात्मक प्रतिक्रिया पाइरहेको छ । विशेषगरी ठूलो परिवारका लागि प्रशस्त केबिन स्पेस, आरामदायी थर्ड रो सिट र आधुनिक डिजिटल प्रविधिका कारण उपभोक्ताले मन पराएका हुन् ।
आयोनिक ९ लाई कम्पनीले आफ्नो ई-जीएमपीमा आधारित रहेर बनाएको हो । ८०० भोल्ट विद्युतीय आर्किटेक्चर प्रयोग भएको एसयूभीले उच्च कार्यक्षमता, उत्कृष्ट स्थिरता, राम्रो तौल सन्तुलन कायम गर्छ ।

यसमा ११० किलोवाट आवर क्षमताको ब्याट्री प्याक प्रयोग गरिएको छ । यसलाई एक पटक फुल चार्ज गर्दा ६२० किलोमिटरसम्म यात्रा गर्न सकिने डब्लूएलटीपी टेस्टले देखाएको छ । लामो रेन्जका कारण हाइवे प्रयोगमा पनि यो उत्कृष्ट मोडल बन्ने देखिन्छ ।
फास्ट चार्जिङ यसको अर्को बलियो पक्ष हो । ३५० किलोवाट क्षमताको डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई करिब १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २४ मिनेट मात्रै लाग्ने कम्पनीको दाबी छ ।
पावरको हिसाबले पनि आयोनिक-९ कुनै हिसाबले कमजोर छैन। विभिन्न भेरियन्टमा उपलब्ध यो एसयूभीमा रियर ह्विल ड्राइभ सिस्टम पाउन सकिन्छ । विकल्पमा डुअल मोटर भएको अल ह्वील ड्राइभ सिस्टम पनि छ । तीव्र एक्सेलेरेसन, उच्च टर्क र सहज पावर डेलिभरीले यसलाई प्रिमियम इलेक्ट्रिक एसयूभी बनाएको छ ।
डिजाइनका हिसाबले पनि आयोनिक-९ ले हुन्डाईको नयाँ एरो एस्थेटिक डिजाइन दर्शनलाई पछ्याएको छ । एरोडाइनामिक बडी, पिक्सेल शैलीका एलईडी लाइट, क्लोजअफ ग्रिल पाउन सकिन्छ ।
इन्टेरियरमा डुअल प्यानोरामिक डिस्प्ले, डिजिटल ककपिट, प्रिमियम सामग्री, आरामदायी सिट, मल्टि जोन क्लाइमेट कन्ट्रोल, ओटीए सफ्टवेयर अपडेट, डिजिटल की, एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम, ३६० डिग्री क्यामेरा पाउन सकिन्छ ।


