दैनिक ५२० रुपैयाँमा विद्युतीय कार !

काठमाडौं । गोल्छा अर्गनाइजेशन अन्तर्गतको जीओ अटोमोबाइल्सले दैनिक ५२० रुपैयाँ किस्ता तिर्ने गरी ईभी किन्न पाउने स्कीम ल्याएको छ । कम्पनीले एमजी कमेट ईभी दैनिक ५२० रुपैयाँ अर्थात् मासिक १५ हजार ५३५ रुपैयाँको किस्तामा किन्न पाउने स्कीम ल्याएको हो ।

जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले विद्युतीय सवारीसाधन खरिदलाई ठूलो आर्थिक निर्णयका रूपमा होइन, सहज जीवनशैलीको स्वाभाविक रोजाइका रूपमा स्थापित गर्ने उद्देश्यले यो स्कीम ल्याएको बताए ।

‘विद्युतीय सवारी खरिद गर्नु ठूलो आर्थिक बोझ जस्तो महसुस हुनु हुँदैन । त्यसैले कमेट ईभी दैनिक ५२० रुपैयाँको किस्तामा उपलब्ध गराएका छौं । साँघुरा सडक, शहरी जीवनशैली र इन्धन खर्च बचत गर्न चाहने मानिसले यसलाई रोज्नेछन्’, गोल्छाले भने ।

शुरुआती मूल्य १८ लाख ७५ हजार रुपैयाँमा उपलब्ध कमेट शहरी सडकलाई लक्षित गरी डिजाइन गरिएको कम्प्याक्ट विद्युतीय ह्याचब्याक हो । चार जनाले आरामदायी यात्रा गर्न सक्ने क्याविन रहेको कमेट प्योर ईभी प्लेटफर्ममा बनेको मोडल हो ।

यसमा १७.३ किलोवाट आवर क्षमताको ब्याट्री र ३० किलोवाटको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ । यसले एकपटक पूर्ण चार्जमा २३० किलोमिटर रेन्ज दिने एआरआईको परीक्षणले देखाएको छ ।


Back_to_top