काठमाडौं । ट्राफिक कारबाहीमा परी जरिवाना नतिर्नेहरू अब यातायात सेवा कार्याहयहरूले प्रदान गर्ने सेवा पाउनबाट बन्चित हुने भएका छन् ।
ट्राफिक कारबाहीमा परे पनि जरिवाना नतिर्ने प्रवृत्ति बढ्दै गएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्यस्ता चालक र सवारीले पाउने सेवा रोक्का गरिदिन यातायात व्यवस्था विभागलाई पत्रचार गरेको हो ।
यससँगै अब जरिवाना नतिरेका चालक र सवारीधनीले सवारीसाधन खरिद बिक्री (नामसारी), सवारीचालक अनुमतिपत्र नवीकरण, ब्लू बुक नवीकरण, बाटो इजाजत अनुमति लगायत यातायात कार्यालयबाट कुनै पनि सेवा नपाउने भएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले लामो समयदेखि जरिवाना नबुझाएका चालकलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाएको बताए । उनका अनुसार जरिवाना नबुझाउने चालकको संख्या २ लाख ६१ हजार बढी रहेका छन् ।
ट्राफिक प्रहरीले ई चलान सुरू गरेदेखि जरिवाना नतिर्नेहरूको विवरण विभागमा पठाइएको उनले बताए । ‘ट्राफिक नियम मिच्ने प्रवृति बढ्दो छ । कारबाहीमा परेपछि पनि जरिवाना तिर्न अटेर गर्दै आएका छन् । कारबाहीमा परेको वर्षौंसम्म जरिवना तिर्न आएका छैनन,’ उनले मेरोअटोसँग भने, ‘त्यस्ता २ लाख ६१ हजार बढी चालकले यातायात कार्यालयबाट पाउने सेवा रोक्का गर्न विभागमा विवरण पठाएका छौं । विभागले आवश्यक प्रक्रिया अघि बढाउँछ ।’
प्रवक्ता सुवेदीका अनुसार असुल्नुपर्ने बक्यौता जरिवाना करिब २० करोड रुपैयाँ छ । ट्राफिक नियम उल्लंघन गरी जरिवाना रकम नतिर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यस्तो व्यवस्था प्रभावकारी हुने विश्वास गरिएको उनको भनाइ छ ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमान सिं राईले ट्राफिक प्रहरी कार्यालयले नामवली पठाएका चालक र सवारीधनीलाई जरिवाना तिर्न आउन म्यासेज पठाइएको जानकारी दिए ।
‘ट्राफिक प्रहरीले वर्षौंदेखि जरिवाना नतिर्ने चालकहरूको नामलवी पठाएको थियो । हामीले सूचीमा नाम भएका सबै चालक र सवारीधनीलाई जरिवाना तिर्न एसएमएस पठाएका छौं,’ उनले मेरोअटोसँग भने ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार ट्राफिक कारबाहीमा परेकाहरूलाई २४ घण्टे पूर्जी दिने व्यवस्था छ । सो अनुसार कारबाहीमा परेकाले २४ घण्टा भित्र जरिवाना तिर्नुपर्छ । तर, व्यवहारमा भने वर्षौंसम्म नतिर्ने गरेको पाइएको छ । सेवाग्राहीको सुविधाका लागि हाल अनलाइन मार्फत नै जरिवाना तिर्न सकिने व्यवस्था मिलाइएको छ ।


