सार्वजनिक यातायातमा हुने विकृति रोक्न व्यवसायीलाई निर्देशन

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात क्षेत्रमा रहेका विकृतिहरू रोक्न निर्देशन दिएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक यातायातमा हुने विसंगति तत्काल सुधार गर्न मातहतका निकाय, व्यवसायी र मजदुरहरूलाई निर्देशन दिएकोहो ।

उपत्यकासहित देशभर संचालित सार्वजनिक यातायातमा यात्रुहरूबाट व्यापक गुनासो आएपछि महासंघले व्यवसायीहरूलाई निर्देशन दिएको हो ।

महासंघले यात्रुहरूलाई गन्तव्यसम्म नपुर्याउने, तोकिएकोभन्दा बढी भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुहरूसँग अभद्र व्यवहार गर्ने, बसपार्क बाहिर जथाभावी यात्रु चढाउने र ओराल्ने, यात्रु तानातान गर्ने, सवारी साधनमा सरसफाइ नगर्ने कार्यहरू तत्काल रोक्न निर्देशन दिएको हो ।

राजमार्गमा चल्ने सार्वजनिक सवारीले तीव्र गतिमा सवारी चलाउने, ट्राफिक नियम पालना नगर्ने, खाना खुवाउन जहाँतहीँ रोक्ने, सवारीका कागजपत्र दुरुस्त नराख्ने जस्ता लापारबाहीले सार्वजनिक यातायात क्षेत्र बदनाम हुन पुगेको महासंघको ठहर छ ।

सार्वजनिक यातायातामा खर्बौंको लगानी र राज्यलाई अर्बौं राजस्व बुझाउँदै आए पनि केही व्यक्तिका गलत क्रियाकलापले आम सर्वसाधारणले नरामे नजरले हेर्ने गरेको महासंघको बुझाइ छ ।

यदि कसैले यस्ता गलत कार्य जारी राखेको पाइएमा त्यस्ता सवारी साधन, व्यवसायी र मजदुरहरूलाई सम्बन्धित निकायमार्फत कडा कानुनी कारबाही गरिने महासंघले चेतावनी समेत दिएको छ ।


Back_to_top