काठमाडौं । चेरी र जागुअर ल्याण्ड रोभरको संयुक्त लगानीको ब्राण्ड फ्रिल्याण्डरले बनाएको पहिलो इलेक्ट्रीक एसयूभीमा विश्वकै ठूलो 8K स्मार्ट डिस्प्ले लगाइएको छ ।
कम्पनीले टेक फिचरमा कुनै सम्झौता नगरी बनाएको फ्रिल्याण्डर-८ एसयूभी हरेक कुरामा अब्बल रहेको कम्पनीको दाबी छ । यसमा हुवावेले बनाएको ४.१ एडास उपलब्ध हुनेछ ।
सम्भवतः अर्को महिनाबाट चीनमा बिक्री सुरू हुने अनुमान गरिएको फ्रिल्याण्डर-८ एसयूभीको बारेमा कम्पनीले एकपछि अर्को फिचर सार्वजनिक गरिरहेको छ । त्यसमध्ये यसमा उपलब्ध प्यानोरामिक इन्टेलिजेन्ट डिस्प्ले अर्को आकर्षक पक्ष हो । यो स्क्रीनको साइज ४६.३ इन्चको छ ।
अहिलेसम्म गाडीमा प्रयोग भएको यो सबैभन्दा ठूलो 8K डिस्प्ले रहेको कम्पनीको दाबी छ । यो स्क्रीनको चौडाई १.२ मिटर चौडाइ रहेको छ । जुन अहिलेसम्म प्रयोग भएका स्क्रीनहरूभन्दा ३०० एमएम बढी हो ।
फ्रिल्याण्डरका अनुसार यसमा प्रयोग भएको 8K स्क्रीन अन्य 4K स्क्रीनको तुलनामा चार गुणा बढी प्रस्ट छ । यो स्क्रीनमा १००० हजार निट्स ब्राइटनेस भएका कारण जस्तोसुकै मौसममा प्रस्ट देख्न सकिन्छ ।
फ्रिल्याण्डर ब्राण्डमा आउन लागेको पहिलो प्योर इलेक्ट्रीक मोडलको लम्बाइ ५.१ मिटर छ । यसमा ३०४० एमएम लामो ह्वीलबेस रहने छ । ६ सिट क्षमतामा आउने एसयूभी विभिन्न तीन भेरियन्टमा उपलब्ध हुनेछ ।
हुवावे, सीएटीएल र क्वालकमसँगको सहकार्यमा तयार पारिएको फ्रिल्याण्डर-८ टेक फिचरको मामलामा अहिलेसम्मकै सर्वोत्कृष्ट एसयूभी बन्ने दोडमा छ । यसमा स्न्यापड्रागनको ८२९५ चीप प्रयोग गरिएको छ । याे नयाँ चीपले सीपीयूको प्रदर्शन तीन गुणा सुधार गर्ने, जीपीयूको प्रदर्शन पनि तीन गुणा र एआई कम्प्यूटिङ क्षमता १२ गुणाले बढाएको दाबी कम्पनीले गरेको छ ।


