काठमाडौं । सरकारले एकैपटक थप १० वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै १० कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी गराएको हो ।
कार्यालयले ती निर्माण तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीको सिफारिसमा पप्पु कन्स्ट्रक्सन, महादेव खिम्ती निर्माण सेवा र श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालिलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
पूर्वाधार विकास निर्देशनालय वीरेन्द्रनगरको सिफारिसमा श्री हिरा नेपाली निर्माण सेवालाई २ वर्ष, पुष्पलाल राजमार्ग योजना कार्यालय कुश्माको सिफारिसमा भारतरसिद्धिसाई जेभीलाई १८ महिना, सडक डिभिजन हर्कपुर ओखलढुंगाको सिफारिसमा शुभम् निर्माण सेवालाई २ वर्ष र मायूमी कन्स्ट्रक्सनलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।



