कोरला नाका पुग्ने थप ४० किमी सडक कालोपत्र गरिँदै, टेन्डर आह्वान

काठमाडौं । भारत र चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत (बेनी-जोमसोम-कोरला) थप ४० किलोमिटर सडक दुई लेनमा स्तरोन्नति गरिने भएको छ ।

बेनी-जोमसोम-कोरला खण्डको छुसाङदेखि घमीसम्मको ४०.१ किमी सडक कालोपत्र गर्न दुई प्याकेजमा टेन्डर आह्वान गरिएको हो ।

आयोजनाले शुक्रबार एक सूचना जारी गर्दै छुसाङ-भेना (चेनेज १११+८०० देखि १३१+९०० सम्म) २०.१ किलोमिटर र भेना-घमी (चेनेज १३१+९०० देखि १५२+००० सम्म) २० किलोमिटर सडक कालोपत्र गर्न टेन्डर आह्वान गरेको हो । ४० किमी सडक स्तरोन्नति गर्न २ अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

इच्छुक कम्पनीले आगामी साउन १८ गते दिउँसो १२ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । सोही दिन दिउँसो १स्०० बजे बोलपत्र खोलिने आयोजनाले जनाएको छ ।

आयोजनाका सूचना अधिकारी ई. बाबुसाहेब कुमार बैठाले वहुवर्षिय ठेक्का अन्तर्गत थप ४० किलोमिटर सडक कालोपत्र गर्न टेन्डर आह्वान गरिएको जानकारी दिए । ३ वर्ष भित्र काम सम्पन्न गर्ने गरी टेन्डर आह्वान गरिएको उनले बताए ।

‘चीनसँगको व्यापारिक नाका कोरला पुग्ने कालीगण्डकी करिडोर सडक धमाधम स्तरोन्नति भइरहेको छ । सोही क्रममा छुसाङदेखि घमीसम्मको ४०.१ किमी सडक कालोपत्र गर्न टेन्डर आह्वान गरिएको हो,’ उनले मेरोअटोसँग भने, ‘कम्पनी छनोट गरी भदौ अन्तिमदेखि काम सुरू गर्ने योजना छ ।’

उनका अनुसार सडक स्तरोन्नतिको क्रममा साँघुरा र असजिला ठाउँमा चौडा बनाउने, नाली, पर्खाल निर्माण गरी अस्फाल्ट बिटुमिन कालोपत्र गरिने छ । साथै, सडक सुरक्षाका आधुनिक पूर्वाधारहरू निर्माण गरिनेछन् ।

९५ किलोमिटर कालोपत्र सम्पन्न

वि.सं. २०७३ मङ्सिर १२ गते मन्त्रिपरिषद्को निर्णयअनुसार कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडकलाई छुट्टै आयोजनाका रूपमा स्थापना गर्दै निर्माण अघि बढाइएको थियो ।

पर्वतको मालुढुङ्गादेखि कोरलानाकासम्म पुग्ने यो सडक २०२ किलोमिटर लामो छ । सोमध्ये हालसम्म ९५ किलोमिटर कालोपत्र र ढलान भइसकेको सूचना अधिकारी बैठाले जानकारी दिए ।

उनका अनुसार हाल मालढुंगादेखि कागबेनीसम्म (बीचमा थोरै-थोरै ठाउँ बाहेक) कालोपत्र सम्पन्न भइसकेको छ । त्यस्तै, कागबेनीदेखि छुसाङसम्म ९.८ किमी सडक कालोपत्र गर्न ठेक्का लगाइ हाल धमाधम काम भइरहेको छ ।

‘मालढुंगा-कागबेनी खण्डको करिब ९५ सडक कालोपत्र र ढलान भइसकेको छ। बीचमा कतै कतै थोरै बाँकी छ । कागबेनीदेखि छुसाङसम्म ठेक्का लागेर अहिले काम भइरहेको छ,’ उनले भने ।

त्यस्तै, आयोजना अन्तर्गत १९ पुल निर्माण गर्ने लक्ष्य रहेकामा १५ वटा सम्पन्न भइसकेको छ । बेनीदेखि जोमसोमसम्मको टुकुचे, भुरुङखोला र बोक्सी खोलामा दुईवटा गरी थप चार वटा पुल निर्माण गर्नुपर्नेछ ।

हालसम्म यो आयोजनामा करिब ९ अर्ब रुपैयाँ खर्च भइसकेको छ । आयोजनाका लागि आगामी आवमा १ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

अब ५० किमी ठेक्का लाग्न बाँकी, आईई हुँदै

२०२ किमी लामो सडकमध्ये अब घमी-कोरला ५० किमी खण्डको मात्र ठेक्का लगाउन बाँकी छ । उक्त खण्ड पनि दुई लेनमा स्तरोन्नति गर्न हाल प्रारम्भिक वातावरणीय परीक्षण (आइईई) भइरहेको सूचना अधिकारी बैठाले बताए ।

आइईई सकिएपछि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारिने र अर्को वर्षसम्म ठेक्का आह्वान गर्ने योजना रहेको उनले बताए ।

‘बेनी-जोमसोम-कोरला सडकको ५० किमी घमी-कोरला खण्ड मात्र ठेक्का प्रक्रियामा जान बाँकी छ । हाल आइईई भइरहेको छ । आइईई सकिएपछि डीपीआर गर्ने र सम्भवतः अर्को वर्षसम्म कालोपत्रका लागि टेन्डर आह्वान गर्ने योजना छ,’ उनले भने । घमी कोरला सडक कालोपत्र गर्न करिब ३ अर्ब लाग्ने अनुमान छ ।

कालिगण्डकी करिडोर नेपाल, भारत र चीन जोड्ने छोटो दुरीको रणनीतिक सडक समेत हो । साथै, रसुवागढी र तातोपानीको वैकल्पिक नाकाका रूपमा समेत लिइएको छ । गत वर्ष दुवै प्रमुख नाका बन्द हुँदै कोरला हुँदै चीनबाट विद्युतीय सवारीसहित सामान आयात गरिएको थियो । यो निर्माण सम्पन्न भएपछि वैदेशिक व्यापारमा सहज हुनेछ । साथै, मुस्ताङको पर्यटन र समग्र राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने अपेक्षा गरिएको छ ।


Back_to_top