नेपाली इन्जिनियर अमेरिकी ईभी कम्पनीमा कन्सल्ट्यान्ट

काठमाडौं । नेपाल विद्युतीय सवारी साधन (ईभी) प्रयोगमा विश्वमै उदाहरणीय बनेको छ । नेपालमा ७/८ वर्षकै अवधिमा ईभी पेनिट्रेसन ७२ प्रतिशत पुगिसकेको छ । अहिले हरेक १०० नयाँ कार बिक्री हुँदा ७२ वटा ईभी बिक्री हुन थालेका छन् ।

सरकारले लिएको प्रोत्साहन नीति, संचालन खर्च कम हुनु, तुलनात्मक रूपमा सस्तो मूल्यमा आधुनिक कार पाउनु, बढ्दो चार्जिङ पूवार्धार लगायत कारणले ईभीप्रति उपभोक्ताको उच्च आकर्षण देखिएको हो ।

नेपालको ईभीको एसेप्टेन्स देखेर विश्वका ठूला देशहरू समेत लाेभिने गरेका छन् । नेपालको ईभी विकासको अनुभवबाट सिकाइ गर्न विश्वकै प्रतिष्ठित ईभी उत्पादक कम्पनीहरूले नेपाली प्राविधिकलाई हायर समेत गर्न थालेका छन् ।

यसैको एउटा उदाहरण हुन् तनहुँका मेकानिकल इन्जिनियर प्रवेश पौडेल । नेपालको अटोमोबाइल क्षेत्रमा विगत १५ वर्षदेखि सक्रिय पौडेललाई अमेरिकाको अग्रणी विद्युतीय सवारी निर्माता रिभियन कम्पनीले कन्सल्ट्यान्टको रूपमा नियुक्त गरेको हो ।

भारतको पञ्जाव टेक्निल युनिभर्सिटीबाट मेकानिकल इन्जिनियरिङमा ग्रयाजुएसन र क्वाललम्पुर युनिभिर्सिटीबाट एमबीए गरेका पौडेललाई रिभियनले गत जुन महिनादेखि २ वर्षका लागि आफ्नो रिपियर सपोर्ट टिमको कन्सल्ट्यान्ट बनाएको हो ।

रिभियन अमेरिकामा अफरोड क्षमतायुक्त विद्युतीय पिकअप ट्रक र एसयूभी उत्पादन गर्ने विश्वका अग्रणी कम्पनीहरूमध्ये एक हो । जसले नवीन प्रविधि, सुरक्षा र उच्च कार्यक्षमताका कारण विश्वव्यापी रूपमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।

पौडेल अटोमोबाइल प्रविधि, विशेषगरी ईभीको विकास, मर्मत प्रणाली तथा प्राविधिक जनशक्ति विकास सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्दै आएका छन् ।

‘नेपालमा ईभीको विकास लोभ लाग्दो छ । नेपालले छोटो समयमै गरेको हासिल गरेको उपलब्धि विश्वका ठूला अटोबजारका लागि समेत उदाहरणीय हो । भौगोलिक बनावट र पहाडी सडकका बीच ईभीको प्रयोग र संचालनका दृष्टिले विशेष अध्ययनको विषय बनेको छ,’ उनी भन्छन्, ‘नेपालकै ईभी सफलता देखेर रिभियनले मलाई कन्सल्ट्यान्टको रूपमा नियुक्त गरेको छ । २ वर्षसम्म प्राविधिक सीप विकास, ईभी रिपियरिङ लगायत विषयमा काम गर्नेछु ।’

उनले आफू रिभियनको उत्पादन केन्द्रमा प्राविधिक विभागसँग विभिन्न प्राविधिक गतिविधि तथा अध्ययनमा सहभागी भइरहेको बताए । साथै, रिभियनको रिपियर सपोर्ट टिमसँग नजिक रहेर विद्युतीय सवारी साधनको मर्मत प्रणालीलाई अझ प्रभावकारी, छिटो र ग्राहककेन्द्रित बनाउने विषयमा प्राविधिक सहकार्य गर्ने छन् । विशेषगरी ईभीमा देखिने नयाँ प्रविधि, उच्च भोल्टेज प्रणाली, ब्याट्री सुरक्षा, डायग्नोसिस प्रक्रिया तथा ग्राहक सेवा अनुभवलाई अझ प्रभावकारी बनाउने विषयमा आफ्नो भूमिका रहने उनी बताउँछन् ।

हाल नेपाल, अमेरिका लगायत ईभीको विकास भइहरेका देशहरूमा दक्ष ईभी मर्मत प्राविधिकको अभाव छ ।यस्तोमा प्राविधिक जनशक्ति उत्पादन, क्षमता विकास, तालिम आवश्यक रहेको उनको बुझाइ छ । ‘ईभीको प्रयोगसँगै यसका चुनौती बढ्दो छ । नेपाल, अमेरिका लगायत धेरै देशमा ईभी मर्मत गर्ने प्राविधिकको अभाव छ । नेपालको अनुभव र रिभियनको अभ्यास दुवै देशमा नयाँ प्राविधिक जनशक्ति उत्पादन गर्न र ईभीको मर्मतमा सहकार्य गर्न सकिन्छ,’ उनी भन्छन् ।

आफूले रिभियन टिमसँग विद्युतीय सवारीको भेहिकल मेन्टिनेन्स प्रोसेस, डाइग्जनोस्टिक सिस्टम, रोड साइड एसिस्टेन्ट सर्भिस र भेहिकल टोइङ सिस्टमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने विषयमा आफ्नो अनुभव तथा सुझावहरू साझा गर्ने उनले बताए । यसले नेपालमा विद्युतीय सवारी साधनको प्राविधिक क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय सहकार्य विस्तार तथा दक्ष जनशक्ति उत्पादनमा नयाँ अवसर सिर्जना गर्ने उनको विश्वास छ ।

नेपालमा हाइब्रिड तथा विद्युतीय सवारी साधनको प्राविधिक सेवा, दुर्घटना व्यवस्थापन तथा टोइङ सेवाको क्षेत्रमा काम गरेको अनुभवलाई प्रयोग गर्दै उनले रिभियनको प्राविधिक टोलीसँग वास्तविक प्रयोगकर्ताका समस्या, आपतकालीन सेवा व्यवस्थापन र छिटो समाधानका उपायहरूबारे सहर्काय हुने उनको भनाइ छ ।

उनका अनुसार विद्युतीय सवारीको सफलता केवल गाडी उत्पादनमा मात्र निर्भर हुँदैन, त्यसको प्रभावकारी मर्मत, छिटो रोडसाइड सहायता र दक्ष प्राविधिक जनशक्ति विकास पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यही उद्देश्यका साथ रिभियनको प्राविधिक टोलीसँगको यो सहकार्य भविष्यको ईभी सेवा प्रणाली विकासका लागि महत्वपूर्ण कदम हुने उनको विश्वास छ ।


Back_to_top